रिबन

बादल भित्रभित्रै विद्रोहको तयारीमा, ओली समूहमा बढ्यो छटपटी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादी लडाकु र पूर्व माओवादीका नेताहरुलाई आफ्नो समूहमा स्पेश दिने तयारी गरिरहेका बेला सोही समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा भने चिढिएका छन् ।

ओलीको कार्यशैलीबाट गृहमन्त्रीसमेत रहेका पूर्व माओवादी कमाण्डर रामबहादुर थापा बादल आजित भएका मात्र छैनन्, आफ्नो मर्यादाक्रमबारे पनि उनी चिन्तित देखिएका छन् । तर बाहिर केही बोल्ने अवस्थामा छैनन् । ओलीले बादललाई दिएका बचन कुनै पूरा गरेका छैनन् । जसले गर्दा ओली गुटमा उनी सामान्य मन्त्रीकै हैसियतमा रहन बाध्य छन् ।

ओलीले वामदेव गौतमलाई बोलाएर आफूतिर खुल्न आह्वान मात्र गरेनन् रोजेको मन्त्रालयको जिम्मेवारीसमेत वहन गर्न प्रस्ताव गरे । त्यसले बादललाई झनै आफू मर्यादामा तल पर्ने आशंका समेत उब्जाएको छ । तर ओलीविरुद्ध विद्रोह गर्ने हैसियत र ल्याकत उनको छैन । ओलीजीले मलाई धेरै कुरामा फसाएका छन् , अब त म न घरको न घाटको हुने अवस्था आयो–बादलले आफू निकटहरुसँग यस्तो भन्न थालेका छन् ।

आफूनिकट सबै केन्द्रीय नेताहरुलाई छाडेर ओली गुटमा समाहित भएका बादल विस्तारै गल्न थालेका छन् । यस्तै हो भने बादलले कुनै पनि दिन ओली गुट त्यागेर फेरि प्रचण्ड–माधव समूहमै लागेको समाचार नआउला भन्न सकिन्न – बादल निकट एक नेताले भने । खासगरी पार्टी भित्रको जिम्मेवारी बाँडफाँट, राजनीतिक नियुक्ति र वरियताका विषयमा बादलले ओलीसँग असन्तुष्टी जनाएका छन् ।

गएको माघ ६गते ओली पक्षले बाग्मती प्रदेश कमिटी पुुनर्गठन गर्दा बादल समूहलाई समेट्ने प्रयास गरेन । जबकी प्रदेशका सचिब बादल पक्षलाई दिने सहमति भएको थियो । बाग्मती प्रदेश अध्यक्षमा ओलीले आफूनिकट आनन्द पोखरेललाई बनाए । प्रदेश सचिवमा भने उनले बादल पक्षका राजकुमार श्रेष्ठलाई बनाउने वचन दिएका थिए । तर पुनर्गठन गर्दा सचिबमा पूर्व एमालेकै धादिङका नेता खेम लोहनीलाई बनाइयो । लोहनी इश्वर पोखरेल निकट मानिन्छन् । यसबाट बादलको मन भाँच्चिएको छ ।

यसरी हेर्दा ओलीको पेलानमा परेका बादल पक्षले बिद्रोह पो गर्ला कि भन्ने त्राश ओलीलाई लाग्नुपर्ने हो । तर त्यस्तो कुनै सम्भावना नरहेको ओली पक्षको बुझाई छ । आगामी स्थायी कमिटी बैठकमा बादल पक्षका मागको संवोधन गरिने ओली पक्षले बताउने गरेको छ ।

यस्तै, माघ २५ र २६ गते सम्पन्न युवा संघको भेलाले पनि ओली पक्षको एकलौटी ग¥यो । त्यसैले बादल पक्षले उक्त भेला नै बहिष्कार गरेको थियो । बादललाई सुरुमा ओलीले आफूपछिको वरियतामा राख्ने वचन दिएका थिए । तर उक्त वचन अहिलेसम्म पूरा भएको छैन । बरु इश्वर पोखरेलको कार्यकर्ताका रुपमा व्यावहार गर्न थालिएको गुनासो उनको रहेको छ ।

पार्टी विभाजनका बेला आफूलाई साथ दिने सबैलाई उचित पद र प्रतिष्ठा दिने ओलीको वचन अहिले फगत गफमा रुपान्तरण भएकोछ । यही अवस्था रहने हो भने विस्तारै पूर्व माओवादी पक्षले ओलीलाई त्याग गर्नुपर्ने अवस्था आउने स्रोतको दाबी छ ।

यस्तो कमजोर अवस्था बन्नुका कारण पूर्व माओवादी नेताहरुले सामुहिक रुपमा नभई व्यक्तिगत रुपमा ओली सरकारमा सहभागिता जनाएकाले हो भन्दै स्रोत भन्छ– यसबारे बादलले धेरै विचार विमर्श गरेका छन्, टोपबहादुर रायमाझी र मणि थापासँग कुरा भएको छ सामुहिक रुपमै कुरा गर्नुपर्ने अवस्था छ ।

अब भने सबै पूर्व माओवादी पक्षका मन्त्रीहरुसँग सामुहिक रुपमै छलफल गरी अगाडि बढ्ने योजनामा बादल रहेको निकट स्रोतको भनाई छ । ओलीले पार्टी विभाजनपछि पूर्व माओवादी पक्षका धेरैलाई मन्त्री बनाएका छन् । तीमध्ये बादल, रायमाझी, थापाका साथै, प्रभु साह,लेखराज भट्ट, दावा तामाङ र गौरीशंकर चौधरी रहेका छन् ।

पार्टी विभाजनसँगै ओलीले मौजुदा केन्द्रीय कमिटी विस्तार गरी झण्डै १५ सय पु¥याए । त्यसका बादलको भागमा केवल २२ जना मात्र परेका छन् । यही विषय पनि बादलले प्रष्टसँग ओली समक्ष राख्न सकेका छैनन् । जबकी यो उनका लागि सबैभन्दा लज्जाको विषय थियो ।

विभाजनका बेला पार्टी केन्द्र, स्थायी र सचिबालयमा रहेका साथीहरुलाई छाडेर ओलीसँग टाँस्सिएका बादलले तल्लो तहका कार्यकर्ता भने ल्याउने बताएका थिए । तर ओलीले पूर्व सहमति बमोजिम कसैलाई कुनै पद नदिएकाले संगठन गर्नै गाह्रो परेको बादलको बुझाई रहेको छ ।

राजनीतिक नियुक्तिका सन्दर्भमा पनि ओलीले बादल पक्षलाई समेट्ने वचन दिएका थिए । सोही अनुरुप ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरियो । आयोगको अध्यक्ष वा विज्ञ सदस्यहरुमा भागबण्डा मिलाउने वचन ओलीले दिएका थिए । तर गठन गर्दा बादल पक्षका एक दुई जना वाहेक कोही परेका छैनन् । यसले पनि बादललाई पीडित बनाएको छ । यसरी हेर्दा ओलीको पेलानमा परेका बादल पक्षले बिद्रोह पो गर्ला की भन्ने त्राश ओलीलाई लाग्नुपर्ने हो । तर त्यस्तो कुुनै सम्भावना नरहेको ओली पक्षको बुझाई छ ।

आगामी स्थायी कमिटी बैठकमा बादल पक्षका मागको सम्बोधन गरिने ओली पक्षले बताउने गरेको छ । तर बादल पक्ष भने ओलीको भनाईप्रति धेरै विश्वास गर्ने अवस्थामा देखिंदैन ।

ओलीसँग अहिल्यै बिद्रोह गर्नुभन्दा सकेसम्म भागबण्डा नै गर्न बादल अग्रसर भएका छन् ।
तर व्यक्तिगत रुपमा ओलीसँग बार्गेनिङ गर्दा कमजोर बन्ने देखिएकाले सामूहिक रुपमै जाने मनस्थितिमा रहेका छन् । यस प्रयोजनका लागि उनले मन्त्रीहरु रायमाझी र थापासँग अनौपचारिक छलफल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *