काठमाडौं । नेपाली काँग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४ औँ महाधिवेशन फेरि सर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । आज बस्ने बैठकले पार्टीको अर्को महाधिवेशनको मितिका सम्बन्धमा छलफल गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महाधिवेशन यसअघि तोकिएको मितिमा संभव नभएपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो। कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो।
तर अब काँग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ । सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ । नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ




