ताजा समाचार

उत्तरी नाकामा फेरि अल्झन

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । भागीरथी हत्या प्रकरणमा शंकास्पद् व्यक्तिहरु पक्राउ देखि भारतबाट खोप किन्न लागिएको खबरले पहिलो पृष्ठमा स्थान पाएको छ ।
नागरिक दैनिकले भागरथीको हत्या आशंकामा एक सरकारी कर्मचारीसहित तीनजना नियन्त्रणमा शिर्षकमा मुख्य खबर छापेको छ । प्रहरीले बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या प्रकरणमा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। तीनजनामध्ये एक सरकारी कर्मचारी छन्। ती सरकारी कर्मचारीलाई प्रहरीले मंगलबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरबाट नियन्त्रणमा लिएर बैतडी लगेको छ।
त्यस्तै नागरिक दैनिकले विघटन अधिकारको दुरूपयोग शिर्षकमा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइअन्तर्गत मंगलबार बहसमा भाग लिँदै एमिकस क्युरी (अदालतका सहयोगी) का सदस्यले प्रधानमन्त्रीलाई विघटनको अधिकार भए पनि गलत प्रयोग गरिएको बताएका छन्। एमिकस क्युरीका तर्फबाट संविधानविद् बद्रीबहादुर कार्कीले संविधानतः प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको तर अहिलेको अवस्थामा गलत प्रयोग भएको जिकिर गरे।
अन्नपूर्ण पोस्ट्ले उत्तरी नाकामा फेरि अल्झन शिर्षकमा पहिलो पेजमा समाचार छापेको छ । नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो। तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्।
सस्तोमा खोप किन्दै सरकार शिर्षकमा अर्को समाचार छ । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप खरिद गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ।
त्यस्तै पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजेल, पेट्रोल, मट्टीतेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टीतेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *