महेन्द्रनगर । बैतडीकी युवती भागरथी भट्टको हत्या प्रकरणमा एकजना सार्वजनिक पद धारण गरेको व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । समाचारस्रोतका अनुसार सार्वजनिक पद धारण गरेका एक व्यक्तिलाई बलात्कारपछि भएको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको हो ।
सार्वजनिक पद धारण गरेका ती व्यक्तिलाई प्रहरीले भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी बैतडी लगिएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिका विषयमा प्रहरीले थप प्रमाण जुटाइरहेको छ ।
प्रहरी स्रोतका अनुसार, उनको संलग्नता देखिने केही आधारहरु देखिएकाले त्यस विषयमा छानविन गर्न पक्राउ गरेको जानकारी दिएको छ । तर, उनको परिचय खुलाइसकेको छैन ।
दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या भए पनि प्रहरीले निचोड भने निकालिसकेको छैन । प्रहरीले घटना भएयता गाउँ छाड्नेहरूको सूची बनाएर निगरानी गरिरहेको थियो ।
मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाले सर्वोच्च अदालत बार एसोसिएसन महिला समूहको ज्ञापनपत्र बुझ्दै भट्टको हत्यारा छिट्टै पक्राउ पर्ने बताएका थिए ।




