काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशन सार्ने विषयमा छलफल हुने बताइएको छ । फागुन ७ गतेदखि १० गतेसम्म तोकिएको समयमा महाधिवेशन नहुने भएपछि सार्ने तयारी गरिएको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको जानकारी दिएका छन् । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने उनले बताए ।
संसद विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए ।




