काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै देशव्यापी विरोध प्रदर्शन गर्दै आएको छ । केन्द्र, प्रदेश, वडा हुँदै जिल्लास्तरीय विरोध प्रदर्शन पनि गरिसकेको छ । तर, विरोध सभामा कांग्रेस नेताहरूको मत एउटै छैन ।
कांग्रेसमा प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने र निर्वाचनमा जानुपर्ने भन्ने दुईथरी मत छ । निर्वाचनमा जानुपर्नेमा संस्थापन सभापति शेरबहादुर देउवा पक्षका छन् । प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा इतर पक्ष छन् । त्यसैले सोमबारको जिल्लास्तरीय विरोधसभामा नेताहरूले आ–आफ्नै गुटको डम्फु बजाएका छन् ।
सभापति देउवाले रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गरे । उनले नेकपाको विवादले कांग्रेसमा पनि समस्या निम्तिएको मात्र बताएनन्, निर्वाचन आयोगले चुनाव गराउनेमै शंका गरे । उनले वैशाखभित्रै निर्वाचन गर्ने भए आयोगले के हेरेर बसेको छ भनेर प्रश्नसमेत गरे ।
मुलुकको चारपटक प्रधानमन्त्री भइसकेका र कांग्रेसको सभापतिसमेत रहेका देउवाले यसरी संवैधानिक आयोगको भूमिकाबारे प्रश्न उठाउनु आफैंमा अर्थपूर्ण हो । किनभने प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषदको पदेन सदस्य रहने संवैधानिक व्यवस्था छ ।
निर्वाचन आयोगले कस्तो भित्री तयारी गर्दैछ भन्ने सूचना देउवाले पक्कै पाएको हुनुपर्छ । यतिबेला देशमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति देउवालाई मात्रै वैशाखमा निर्वाचन हुन्छ भन्ने विश्वास छ । तर, उनै देउवाले सोमबार भैरहवामा निर्वाचन आयोगकै भूमिकामाथि प्रश्न गरेपछि अब वैशाखमा निर्वाचन हुँदैन भन्नेमा सबै पुगिसकेका छन् ।
प्रधानमन्त्री ओलीले वैशाखमै चुनाव गराउन पुसमा प्रतिनिधिसभा विघटन गरेको मान्न कोही तयार छैनन् । भएको जनप्रतिनिधि थलो भंग गरिदिएपछि स्वेच्छाचारी ढंगले जहिलेसम्म मन लाग्छ त्यसबेलासम्म सत्तामा बस्न पाइन्छ भन्ने ओलीको भित्री मनोकांक्षा विस्तारै प्रकट हुँदै गएको छ । उनले सोमबार सिंहदरबारमा भने– अहिले गरेको निर्वाचन प्रतिगमन हुन्छ भने डेढ दुई वर्षपछि हुने निर्वाचन पनि प्रतिगमन नै हुने बताए । उनको यो तर्कप्रति धेरैको ध्यान नपुगेको देखिन्न ।
मंगलबार एक कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन आयोगको मनसाय वैशाखमै चुनाव नगराउने रहेको संकेत गरेका छन् ।




