काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार केन्द्रीय समिति बैठक बोलाएपछि सो दिन डाकिएको जिल्ला सभापतिहरुको भेला स्थगित भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुधबारका लागि ७७ रै जिल्ला सभापतिहरुको भेला बोलाएको थियो । कांग्रेस कार्यसमितिको थप गरिएको कार्यकाल फागुन ७ गतेदेखि सकिँदैछ । त्यसैले जिल्ला सभापतिहरुको भेलाबाटै कांग्रेसको १४औं महाधिवेशनको मिति तोक्ने पौडेल पक्षको तयारी थियो । तर, त्यही दिन सभापति देउवाले केन्द्रीय समिति बैठक डाकेपछि जिल्ला सभापतिहरुको भेला स्थगित गरिएको हो ।
काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको सोमवार साँझ बसेको जिल्ला सभापतिहरुको बैठकले भोलि केन्द्रीय समिति बैठक आह्वान गरिएकाले जिल्ला सभापतिहरुको बैठक स्थगित गरेको हो ।
पार्टी विधान र नेपालको संविधान दुवै संकटमा पर्दै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराउन पौडेल पक्षीय जिल्ला सभापतिहरुले भोलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय गरेका थिए । पार्टीको महाधिवेशन र संसद विघटनका विषयमा कांग्रेसले ठोस निर्णय लिनुपर्ने जिल्ला सभापतिहरुको भनाइ छ । पार्टी सभापति देउवाले भने निर्वाचनमा जाने मनसाय प्रकट गर्दै आएका छन् ।




