रिबन

वैकल्पिक सरकार बन्ने सम्भावना थिएन, अस्थिरता हुन्छ भनेर प्रतिनिधिसभा विघटन गरिदिएँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा वैकल्पिक सरकार बन्ने अवस्था नभएको र बन्न खोजिए अस्थिरता निम्तिने देखेर आफूले प्रतिनिधिसभा विघटन गरिदिएको बताएका छन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको प्रबलीकरणपछि उदघाटन गरेपछि सरकार बनेको तीन वर्षको समीक्षा उपलब्धि सुनाउने क्रममा ओलीले त्यस्तो बताएका हुन् ।

उनले पार्टीभित्रैबाट असहयोग भएकाले यस्तो अवस्था निम्तिएको दाबी गरे । चुनावमा जानु कुनै प्रतिगमन नभएको उनको जिकिर थियो । ‘चुनावमा जानु कतै प्रतिगमन हुन्छ ? के भनिरहनु भएको छ साथीहरू ? प्रतिगमन भए पनि डेढ दुई वर्षभित्र त हाम्रो प्रणालीले चुनाव त गराउँछ । के मैले सधैं शासनसत्तामा बस्न चाहेको हो र ? मैले कुनै पनि हालतमा चुनाव गराउँदैन भनेर भनिरहनु भएको छ,’ ओलीले भने । उनले नेताहरु राजनीति गर्नु हुन्छ कि ज्योतिषशास्त्र पढिरहनु भएको छ भन्दै आलोचना पनि गरे ।

‘सुरुदेखि नै सरकार सञ्चालनमा व्यवधान, अवरोध खडा भए । पछिल्लो एक वर्षदेखि दुई तिहाइ सरकारले गठबन्धन सरकारको जस्तो नियति भोग्नुपर्यो । सरकारले कामै गर्न नपाउने अवस्था सिर्जना भयो । संवैधानिक अंगका पदाधिकारी नियुक्ति गर्नै नपाउने अवस्था आयो । बल्ल तल्ल संसदीय समितिमा पुगेका विधेयक पारित हुँदैन । संवैधानिक नियुक्ति गरिहाल्यो भने कचिंगल गरियो, आफ्नै दलको संसदीय दलमा पनि हलो अड्काइन्छ,’ ओलीले भने ।

सार्वजनिक खरिद नियमावलीमा पनि भाँजो हाल्ने, सरकारी नियुक्तिमा अनुपयुक्त पात्र अघि सार्ने जस्ता काम भएको आरोप पनि लगाए । ‘पार्टीका केही साथीहरूको अतृप्त आकांक्षा, कुण्ठा, व्यवस्थापिकामा नपरोस् भनेर म हरदम सचेत भएकै हो । समयअगावै चाँडो निर्वाचनमा जानु नपरोस् भन्ने चाहेको थिएँ ।

गठबन्धन सरकारको अर्को कुनै समूहले झैं प्रधानमन्त्री एवं पार्टी अध्यक्षमाथि निराधार झुटा, लान्छनायुक्त प्रतिवेदन छापेर देशभरि पठाइयो । मलाई हटाउन खोजियो । पुस ५ गते २ बजेसम्म झुटा प्रतिवेदन फिर्ता नलिएपछि मैले संसद् विघटनमा हस्ताक्षर गरें,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिनिधिसभा विघटन गर्नुभन्दा अघि आफूले धेरैपटक सोचेको उनले सुनाए । जनताको बीचमा जानु कसरी अलोकतान्त्रिक र प्रतिगमन भयो भन्दै उनले प्रश्न गरे । आफू शासनसत्तामा टाँसिएर बस्न नचाहेको पनि बताए ।

एकजना व्यक्ति (प्रचण्ड) ले मविरुद्ध झुटो लाञ्छनायुक्त प्रतिवेदन आउने बाहेक पार्टीमा केही नभएको र संसदीय दल बैठकको कुनै माग नआएको पनि उनले दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *