काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि फागुन ३ गते हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
सभापति देउवाले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै संसद् विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका हुन् । उनले कांग्रेस नेतृत्वमा हुने प्रदर्शनमा सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।
‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् । अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन् ।
देउवाले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’





