आजका पत्रपत्रिकामा शनिबार बुटवलमा भएको नेकपा ओली समूहको आमसभा लगाएत जनयुद्ध दिवसमा भएका विभिन्न कार्यक्रम र बैतडीकि भागीरथी भट्टको हत्यारा पत्ता नलागेको खबरले पहिलो पृष्ठमा स्थान पाएका छन् ।
अन्नपूर्ण पोस्ट्ले भीरकट्यामा अड्किएको अनुसन्धान शिर्षकमा समाचार छापेको छ ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ । भागरथी पढ्ने विद्यालयदेखि झण्डै ५ सय मिटर दुरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन ।भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनको बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन् । उनले खोचलेक बजारको एक पसमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले त्यो चाउचाउ बजारबाट झण्डै तीन सय मिटर दुरीमा रहेको भीरकट्याको भीरमा खाइन् । ‘भीरकट्याकको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन् । त्यतिबेला दुई जना थिए । दुवै भीरकट्याको भीरबाट छुट्टिए,’ एक जना प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।’
त्यस्तै अन्नपूर्णले विकास देखेर विरोधी आत्तिए शिर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा गरेको भाषणलाई पहिलो पृष्ठमा समाचार छापेको छ ।
भागीरथी हत्या प्रकरणलाई भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’ शिर्षकमा नागरिक दैनिकले छापेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ । ‘घटनास्थलको भौगोलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन । चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडोकदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने ।
संसद् पुनःस्थापना भए अस्थिरता शिर्षकमा नागरिकले पनि नेकपा ओली समूहका आमसभाबारे समाचार छ । समर्थकलाई सम्बोधन गर्ने क्रममा ओलीले भने। यो मुद्दामा अदालतले न्याय गर्ने र देशलाई अस्थिरतातर्फ फर्कन नदिने विश्वास व्यक्त गरे। संसद् पुनःस्थापना भए कुनै पार्टीको बहुमत नरहने भएकाले झनै अस्थिरता बढ्ने र त्यसबाट लोकतन्त्रको हुर्मत लिने काम हुने दाबी उनले गरे। संसद् पुनःस्थापना भए संसद् किनबेचको खेल हुने उनले बताए।
पत्रपत्रिकाबाट




