अस्तिसम्म थिए साँठगाँठ मेल मिलानमा
भत्किए भाग दुर्भाग्य वापवैरी सिरानमा ।१।
भागबन्डा बिलो साथी भाइबीच मिलेन रे !
बोलीचाली भए बन्द चालबाजी खुलेन रे ! ।२।
जुट्यौँ एक भयौँ भन्थे चिप्ला चाल कला रचे
टेके ढाड थिले शीर खसे दुत्कारमा फँसे ।३।
जोडे काँध भए मित्र आज बोली विलौरी छ
बन्डाचुन्डा नपाएको रुन्चे सोर सिँगौरी छ ।४।
चाटाचाट मिली बस्ता काटाकाट अमेलमा
कुचेष्टा क्रोध क्रोधाग्नि बाढी घैमल भेलमा ।५।
गुटबन्दी यहाँ गोटा नेता गोटी जता हऊन्
सत्ताको मोह छोड्ने को ? सहयात्री भनी रहून् ।६।
थिए श्रृङ्गारका स्वादे पुष्पहार गलाभरि
आज गाली छ दुर्वाच्य लाजै छैन कठैबरी ।७।
महाभारत ठानून् या बन्धु बान्धवको फुट
ढुङ्गो चक्मक ठोसेझैँ झिल्का झिल्ल झिलिल्ल छ ।८।
प्रत्यारोप कि आरोप भेला भेट सभा हुँदो
खल्लो पाँडे पुराणैले लाग्ला देश र के उँभो ? ।९।
बिस्र्यौ कि देश नेताजी ! अल्पदृष्टि भयङ्कर
नारा नाराज उर्लेका विद्रोह द्रोह सागर ।१०।
आसक्ति सम्पदामाथि मूच्र्छना राज्यदोहन
चित्तवृत्ति महास्वार्थी व्यग्र हामी जनार्दन ।११।
० ० ०
मादी न पा ६, सङ्खुवासभा, हालः लोकन्थली, भक्तपुर




