काठमाडौं । नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीसँगै नेकपा फुटको कलहले राजनीतिक सीमा–संहिता नाघेर घोर व्यक्तिगत वैमनस्य र प्रतिशोधको तह ओर्लेको छ । शीर्ष नेताहरूबीचै एक अर्कालाई कुनै पनि सीमाविहिन गालीगलोज बाँकी नराख्ने प्रतिस्पर्धा चलिरहँदा राष्ट्रपति पदमा आसिन व्यक्तिमाथि प्रश्न उठाइनुलाई चाहिँ असह्य मुकरर गरिएको गरिदै रामुकमारीको झाक्रीको पक्राउले सहकार्यको समेत संभावनालाई टाढा बनाउदै लगेको छ ।
रिस र इवीलाई जिब्रोको टुप्पामा राखेर देश दौडाहामा निस्केका ओलीले यस प्रकरणसँगै अब राजनीतिक प्रतिशोध सुरक्षा निकायको प्रयोगबाट हुनेछ भन्ने पनि सन्देश दिन खोजेका छन । संसद पुनर्स्थापना विषय अदालतमा विचाराधीन र दलहरू सडकमै लीन वर्तमान अवस्थामा सरकारले धरपकडको यो तहको हर्कत सुरु गर्नुले देश अब निर्णायक द्वन्द्वतर्फ मोडिएको संकेत गर्छ । जसको अन्तर्यमा ओलीराजको नजिकिँदो अन्त्य नजिकिदै गएको संकेत देखिएको छ । ५ गते जब प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरे त्यसपछि ठूलो दल भनिएको नेकपा पूरै विभाजित मात्रै भएन नेताहरुले आफ्नो अभिष्टका लागि गाली गलौचमा उत्रिए । त्यतिमात्र होइन एकले अर्कालाई शत्रुतापूर्ण व्यवहार गर्दै जाँदा प्रतिशोध समेत साँध्न थाले ।
राजनीतिक प्रतिशोधको भूमरीमा परिन विहिबार पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री । गणतन्त्र आएपछि विद्या भण्डारी दुई पटक राष्ट्रपति भएकी छिन् । तर उनकै पालामा उनकै सहयात्री अथवा कार्यकर्ता रहेकी रामकुमारीले व्यक्तिगत गाली गलौजलाई राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा प्रहरी कार्यालयमा बयान दिन पुग्नु पर्यो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै आएका छौं भन्ने कुरा संविधान र कानूनलाई हेरेर भन्ने अवस्था छ तर व्यवहार भने ठ्याक्कै उल्टो भएको छ । संविधानमा नै व्यवस्था गरिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग भने नागरिकले अझै गर्न पाइरहेका छैनन् । अभिव्यक्ति स्वतन्त्रता भन्ने वस्तु शासकका लागि सधै आँखाको तगारो बन्ने गरेको छ । जसको परिणामा विहिबार रामकुमारी झाँक्रीले भोगिन् । सयौं कार्यकर्ताहरुमाझबाटै उनले गिरफ्तारी रोजेकी थिइन् । जसले गर्दा उनले यो राज्यको कानुनलाई सम्मान गरेको संकेत गरेकी थिइन् । सरकारले रामकुमारीलाई पक्राउ गर्न खोजेर अन्य शीर्ष नेताहरुलाई तर्साउन खोजेर एक कदम अघि बढ्दा पक्राउपछिका घट्नाक्रमले सरकारलाई दुई कदम पछि हट्न बाध्य भयो । प्रधानमन्त्री ओलीको दबाबमा पक्राउ परेकी झाक्री उनकै आदेशमा रिहा भइन् । विहिबार दिनभर उनको विषयमा देशभर जनसमर्थन जुट्यो त्यसबाट सरकार बाध्य भएर पछि हटेको थियो ।
ऋाखिर उनलाई पक्राउ गर्नुपर्ने थियो त उनले के के भनिन भन्ने बारेमा हेर्ने हो भने राज्य विरुद्धको अपराध लाग्ने ऐन आकर्षित हुने थिएन । गोरखामा नेकपाले आयोजना गरेको एक सभालाई सम्बोधनका क्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ?, बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु, शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ, चाबहिल हो कि बानेश्वर कता घर छ ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, बडामहारानीका लागि म पनि भारी हुन सकौँला, बडामहारानी बिरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँछौं र बडामहारानीलाई चुनावमा हराउँछौं’ झाँक्रीले अगाडी भनेकी थिइन,’जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासमा बडामहारानीको बास भएको छ, हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौं तर त्यसलाई सुनिएन । नेकपा एमालेले २०५० सालमा गरेको निणर्य गम्भीर भूल थियो, मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’ झाँक्री त्यतिकैमा रोकिइनन्, ‘विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ, विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहार्यौं, तर हाम्रा कुरा कसैले पनि सुनेनन्, आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ ।’ उनको यही अभिव्यक्ति विरुद्ध विहिबार प्रहरी कार्यालयमा पुग्नु परेको थियो । यो अभिव्यक्तिमा गाली वेइज्जती ऐन आकर्षित हुने थियो । तर सरकारले राज्य विरुद्धको दफा लगाएर नेताहरुलाई तर्साउने हर्कत गर्यो । जुन पाँच घण्टामै असफल भयो ।
झाक्रीले बुधबार दाहाल–नेपाल पक्षले काठमाडौंमा आयोजना गरेको विरोध सभामा समेत उनले राष्ट्रपति लक्षित आफ्नो अघिल्लो अभिव्यक्तिाई पुरक अभिव्यक्ति दिएकी थिइन । ‘यो राष्ट्रपति सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीर माथिको संस्था हो, तर त्यो संस्थाविरुद्ध बोल्ने दुश्साहस गरेको छैन, त्यो संस्थामा कुनै व्यक्तिको निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको बिरुद्ध बोल्न पाइन्छ, कसले भन्यो बोल्न पाइदैन भनेर?, एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर, बोल्न पाइन्छ ।’ उनले विरोध सभालाई सम्बोधन गर्दै अगाडी भनेकी थिइन्, ‘महिला अस्मिता त्यति बेला बलात्कृत भएको छ जहाँ भागीरथी भट्ट जस्तै, निर्मला पन्त जस्तै कलिला किशोरीहरु, बालिकाहरुको बलात्कार र हत्या भएको छ, त्यति बेला महिला अस्मिता बेचिएको छ, बलात्कृत भएको छ, खण्डित भएको छ, त्यसकारण एउटा तानाशाह बन्दै गरेको एउटा अहंकारी एक प्रकारको कसैलाई नमान्ने, सबै कुराको सर्वज्ञानी अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्न पाइन्छ, यहाँ महिला अस्मिताको प्रश्न आउदैन, कुनै पनि पदमा लिङ्ग हुँदैन, त्यो सार्वजनिक पद हो, त्यसैले बोल्न पाइन्छ ।’
‘आज १८ बर्षसम्म बिद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको एउटा अनेमसंघ भन्ने संस्था छ, त्यसका सदस्यहरुले महिला अस्मिताको गफ गर्दैछन्, मलाई सुन्न हेर्न र समाचारहरुमा पढ्न मन छ, भागिरथीका हत्याराहरुलाई कारबाही गर भनेर तिनीहरु गृहमन्त्रालय पुगे कि पुगेनन् रु मलाई प्रश्न गर्न मन छ ।’ उनले सम्वोधन अघि मुखमा कालो टेप लगाएकी थिइन भने सम्बोधनका क्रममा मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्ने विरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभई व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेकोसमेत प्रस्ट परेकी थिइन् । यसबाट झन चिढिएपछि सरकारले उनलाई कुनै पनि हालतमा पक्राउ गर्ने अभिष्ट राखेको थियो । जुन अभिष्ट पूरा भएपनि सरकार र नेकपा ओली समूहलाई यसले घाटा पुर्याएको छ । अझ सुरक्षाकर्मीहरुको सहारा लिन खोज्दा लोकतन्त्रवादीहरुको शीर नै निहुरिएको छ ।




