काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर बिगारेको राजनीतिक माहोल बिहीबारदेखि झनै खराब हुन पुगेको छ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेर दिएको अभिव्यक्तिलाई राज्यविरुद्धको कसुरको अभियोग लगाई कारबाही गर्न खोज्नुले आमजनताले यो सरकारमाथि शंका गर्न थालेका छन् ।
नेपाली कांग्रेसका यु्वा नेता गगन थापाले प्रश्न गर्नेलाई झ्यालखाना पठाउने ? भन्दै सरकारको कडा आलोचना गरेका छन् । उनले विगतमा महाराजलाई प्रश्न गर्दा र अहिले राष्ट्रपतिलाई प्रश्न गर्दा एउटै नियति दोहोरिनुले सत्तामा बस्नेको उन्माद बढेको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त प्रधानमन्त्री ओलीकै ठाडो निर्देशनमा झाँक्रीलाई पक्राउ गरिएको बताए । नेकपाले औपचारिक रूपमै झाँक्री पक्राउको विरोध जनाएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सर्वसत्तावादी चरित्र देखिएको उल्लेख गरेका छन् ।
कांग्रेस युवा नेता धनराज गुरुङले ओली सरकारको कदम मर्ने बेलामा पुतलीको प्वाँख उम्रेको भनेका छन् ।
रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको सहयोगी भएको आरोप लगाउँदै आएकी छन् । सोही आरोप प्रधानमन्त्री ओलीलाई सैह्य भएन । उनले झाँक्रीलाई कारबाही गर्न गृह प्रशासनलाई निरन्तर दबाब दिँदै आएका थिए । आफ्नो पार्टीको महिला संगठनलाई गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउन लगाए ।
प्रतिनिधिसभा विघटन गरेर आलोचित बनेका ओली झाँक्री पक्राउपछि झनै विवादित बनेका छन् । आफू र राष्ट्रपतिको विरोधमा लाग्ने सबैलाई जेल हाल्ने ओलीको नियत देखिएको छ । धेरैले ओलीलाई उत्तर कोरियाको बाटोमा हिँडेको भन्दै अब सरकारले झनै निरंकुश चरित्र देखाउने आमजनताले अनुमान गरेका छन् ।




