काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सरकारको चौतर्फी आलोचना सुरु भएको छ । बोलेकै भरमा राज्यविरुद्धको कसुर लगाइनुलाई सत्ताको शक्ति प्रदर्शन भन्दै प्रधानमन्त्री केपी ओलीको तीव्र आलोचना भएको हो ।
विभिन्न दलका नेताहरुले सरकारको आलोचना गरेका छन् । कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उनले उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’ बिहीबार अपराध अनुसन्धान महाशाखाबाट गएको प्रहरी टोलीले उनलाई शंखमूलस्थित निवासबाट पक्राउ गरेको हो ।




