काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धका कसुरअन्तर्गत पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले पक्राउ पुर्जी नेतृ झाँक्रीलाई बुझाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोली बिहीबार बिहानै आफूलाई पक्राउ गर्न आएपछि झाँक्रीले राजनीतिक मुद्दा भएको भन्दै पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् ।
सुरुमा पक्राउ पुर्जी नलिई गएको प्रहरी टोलीले पछि महाशाखाबाट पक्राउ पुर्जी जारी भएको पत्र झाँक्रीलाई बुझाएको छ । उनीविरुद्ध राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ ।
झाँक्रीले केही समय सार्वजनिक रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आलोचना गरेकी थिइन् । त्यही अभिव्यक्तिले राष्ट्रपतिको अपमान भएको, मानमर्यादामा असर पुगेको भन्दै नेकपा ओली समूहले कारबाही गर्न गृहमन्त्री रामकुमार थापा बादललाई ज्ञापनपत्र बुझाएको थियो । सोही पत्रअनुसार झाँक्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
झाँक्री निवासमा प्रहरी टोली पुगेपछि अहिले नेकपा कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । ठूलो संख्यामा भेला भएका नेकपा कार्यकर्ताले प्रहरी पक्राउको तयारीप्रति विरोध जनाउँदै प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गरिरहेका छन् ।




