काठमाडौ । अध्यागमन विभागले ४० वर्षमुनिका महिलालाई भिजिट भिसामा विदेश जान वडा र परिवारको सिफारिस गर्ने निर्णय भइनसकेको बताएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै निर्णय नभएको स्पष्टीकरण दिएको हो ।
महिलाहरुलाई खाडी तथा जोखिम संभाव्य मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानसहितको कार्यविधि संशोधन गरी विभागले चार दिनअघि गृह मन्त्रालयमा पेस गरेको थियो । तर, यो विषयमा चौतर्फी आलोचना भएपछि विभागले बिहीबार बिहान निर्णय भइनसकेको भन्दै स्पष्टीकरण दिएको हो । यो विषय अनौपचारिक छलफलमा रहेको विभागको प्रष्टिकरण छ ।
विभागले जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको विभागले जनाएको छ ।
खाडी तथा अफ्रिकी देश जाँदा महिलाहरुको हकमा परिवारको सहमति वा वडाको सिफारिस चाहिने प्रावधान राखिएको छ । मन्त्रीस्तरबाट निर्णय भएपछि सो कार्यविधि कार्यान्वयन हुने छ । भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै विभागले यस्तो प्रावधानको प्रस्ताव गरेको हो ।
महिला अधिकारकर्मी मात्र होइन, विभिन्न राजनीतिक दलले समेत यसको विरोध गर्दै आएका छन् । सरकारको यो निर्णयले महिला अझै पनि स्वतन्त्र नभएको, पुरुषमा आश्रित हुनुपरेको भन्दै बुद्धिजीवीहरूले सरकारको चर्को आलोचना गरेका थिए ।




