रिबन

मोहन वैद्य र विप्लवबीच आजदेखि फेरि सहकार्य, एक हुँदै पूर्वमाओवादी

काठमाडौं। विभिन्न आरोह अवरोहपछि मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवबीच फेरि सहकार्य हुने भएको छ । विगतमा वैद्य र विप्लव दुवै माओवादी आन्दोलनमा थिए । तर, माओवादी टुक्रा टुक्रामा विभाजित बन्दा उनीहरू छुट्टिएका थिए ।

मोहन वैद्य नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा नेकपा क्रियाशील रहँदै आएको छ । माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, रामबहादुर थापा बादल छुटिएर गए पनि वैद्य र विप्लवबीच लामै समय सहकार्य थियो । तर, यी दुई पनि अलग अलग भएका थिए ।

आज वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले सहकार्य गर्ने भएका छन् । न प्रतिगमन न यथास्थितिवादीको पक्ष लिने भनिएको रणनीतिक संयुक्त मोर्चाको आज प्रज्ञा प्रतिष्ठान कमलादीमा संयुक्त मोर्चा घोषणा गर्ने कार्यक्रम छ ।

कार्यक्रममा विप्लव वा उनको पार्टीका कुनै नेता भने नआउने बताइएको छ । विप्लवको संगठन सरकारद्वारा प्रतिबन्धित छ । विप्लवले आफ्नो सन्देश भने पठाउनेछन् । विप्लवको सन्देश लिएर बुद्धिजीवी गुणराज लोहनी कार्यक्रममा उपस्थित हुने बुझिएको छ ।

संयुक्त मोर्चामा वैद्यको नेकपा क्रान्तिकारी माओवादी विप्लवको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतीको पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेकपा सहभागी हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *