काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको आज भृकुटीमण्डपमा बृहत् विरोध सभा आयोजना गरेको छ । यतिबेला राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किरहेको छ । जुलुस भृकुटीमण्डप सडकमा पुगेपछि सभा सुरु हुनेछ ।
नेकपाको सचिवालयले आजको विरोध सभालाई सम्बोधन गर्ने वक्ताको टुंगो लगाएको छ । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले आजको विरोध सभामा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने जनाएका छन् ।

सो समूहका युवा नेताद्वय योगेश भट्टराई र घनश्याम भुसालले आज पनि विरोध सभालाई सम्बोधन गर्ने छैनन् । भुसाल र भट्टराई काठमाडौं बाहिरका सभामा सहभागी भएकाले उनीहरू उपस्थित नहुने भएका छन् । यसपटक नेकपा प्रचण्ड–माधव समूहले प्रदेश २ बाट महफुज अन्सारी, रामचन्द्र झा र सन्तकुमार चौधरीलाई वक्ता तोकेको छ । माघ ९ गतेको आमसभामा तराई मधेसबाट कसैले सम्बोधन गर्न पाएका थिएनन् ।




