काठमाडौं । असंवैधानिक तवरले संवैधानिक अंगमा नियुक्ति पाएकाहरूले आ–आफूलाई जिम्मेवारी बाँडफाँट गर्न थालेका छन् । जसमध्ये सबैभन्दा पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिम्मेवारी बाँडफाँट सुरु भएको छ ।
प्रधानमन्त्री केपी ओलीकै इच्छामा अख्तियार प्रमुख आयुक्त बन्न सफल प्रेमकुमार राईले आफूलाई शक्तिशाली मन्त्रालयहरू राखेका छन् । उनले खासगरी सुरक्षा निकाय र धेरै आर्थिक गतिविधि हुने मन्त्रालय आफूसँग राखेका छन् ।
स्रोतका अनुसार प्रमुख आयुक्त राईले गृह, रक्षा र सुरक्षा निकायको तथा अर्थ, पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेसनको जिम्मा लिएका छन् । राई आफैं विवादास्पद छविका व्यक्ति हुन् । उनीविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । आफैं भ्रष्टाचारमा संलग्न प्रमुख आयुक्त राईले अब कसरी अरुलाई यो मुद्दा लगाउँछन् ? भन्ने प्रश्न उठेको छ ।
आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा, न्याय र कानुनसम्बन्धी तथा सहरी विकासलगायत मन्त्रालयको जिम्मेवारी परेको छ।
आयोगमा प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद रिसाललाई दिइएको छ। आयोगको ३१औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयुक्तहरूको जिम्मेवारी टुंग्याइएको बताइएको छ ।




