रिबन

बलात्कारका घटनाविरुद्ध ‘सिंहदरबार महिला मार्चपास’ गरिने

काठमाडौं । बृहत् नागरिक आन्दोलनले शुक्रबार बलात्कारका घटनाविरुद्ध ‘सिंहदरबार महिला मार्च पास’ गर्ने भएको छ । एक अपिल जारी गर्दै माघ ३० गते मार्सपास गर्ने जानकारी गराएको हो ।

चरणबद्ध आन्दोलनमा रहेका नागरिक आन्दोलनका अगुवाहरुले शृंखलाबद्ध रुपमा भइरहेको बलात्कारका घटनाको विरोधमा शुक्रबार मार्च गर्न लागेका हुन् ।

‘हामी सडकबाट चुनौती दिन्छौं( एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन,’ अपिलमा भनिएको छ, ‘यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं ?’

बृहत् नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, कैलाश राईलगायत आठजना अगुवा महिलाहरूले जारी गरेको अपिल अनुसार वसन्तपुरबाट सुरु हुने महिला मार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूलगेटसम्म पुग्नेछ।

अपिलमा भनिएको छ, ‘मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखी भागीरथ भट्टसम्म– यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ । पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन । हाम्रा घर, संविधान, कानुन, संस्था सबै अब बदलिनुपर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *