रिबन

पार्टी नेतालाई सँगै राखेर प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आयुक्तलाई यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओली मंगलबार दिउँसो निर्वाचन आयोग पुगे । उनी उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेताहरू सुवासचन्द्र नेम्वाङलगायतका साथ आयोग पुगेका थिए ।

निर्वाचन आयोगले नेकपाको आधिकारिकता र चुनाव चिन्हबारे छानबिन गरिरहेको छ । धेरैले प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेर आधिकारिक नेकपा आफूहरू भएको दाबी गर्ने अनुमान गरेका थिए । तर, सबैको अनुमानविपरीत ओलीले निर्वाचनको तयारीबारे बुझेको जानकारी बाहिरियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आगामी निर्वाचनको तयारीबारे भइरहेका कामको जानकारी लिएको बताए ।

उक्त अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले गरिरहेका कामहरूबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नेगरी आयोगले गरिरहेका तयारी कार्यहरू सन्तोषजनक रहेकोमा धन्यवाद दिएको थापाको भनाइ छ ।

सरकारका तर्फबाट आयोग पुगेको बताइए पनि पार्टीकै नेताहरू लिएर प्रधानमन्त्री ओली जानुलाई अर्थपूर्ण मानिएको छ । ओलीले अप्रत्यक्ष रूपमा आफू नै नेकपा भएको दाबी गरेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *