काठमाडौं । प्रतिनिधिसभा विघटन र सडक आन्दोलनबारे नेकपा (प्रचण्ड–माधव समूह) ले नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग अन्तरक्रिया गरेको छ ।
दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजित अन्तरक्रियामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, केन्द्रीय संघर्ष समितिका सहसंयोजकद्वय पम्फा भुसाल, योगेश भट्टराई, केन्द्रीय कमिटि सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजाललगायतले विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई ब्रिफिङ गरेका थिए ।

माघ २२ गतेको देशव्यापी आमहडतालबाट आलोचित बनेको नेकपा (प्रचण्ड–माधव समूह) ले भोलि बुधबार काठमाडौंमा बृहत् प्रदर्शन गर्दैछ । २२ गतेको आमहडतालमा धेरै तोडफोड भएपछि सो समूहले माफीसमेत मागिसकेको छ । बुधबार हुने प्रदर्शन र नेपालको आगामी राजनीतिबारे प्रचण्ड र माधव नेपालले विदेशी मिडियालाई जानकारी गराएका थिए ।
प्रधामन्त्रीको समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनर्स्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाए। त्यस्ता सेटिङ भएकाबारे हामीलाई विश्वास छैन। तर यदि सेटिङ नै खालको निर्णय भयो भने हामी सामु निकै ठूलो राजनीतिक र नैतिक प्रश्न खडा हुनेछ। त्यसलाई सहज रूपमा लिन सक्दैनौँ,” प्रचण्डले भने।
त्यसो भए अदालतले प्रधानमन्त्रीको कदम सदर गरिदिए प्रचण्ड-नेपाल समूहले चुनाव बहिस्कार गर्छ त? प्रचण्डको जबाफ थियो -“त्यो निर्णय त्यतिबेला नै लिनेछौँ। अहिले नै निष्कर्षमा पुगेका छैनौँ।”
“यो हाम्रो पार्टीको मात्र आन्तरिक विषय वा विवाद होइन, रहेन। प्रधानमन्त्रीलाई सत्ताको मात लाग्यो। उहाँले साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्नुभयो,” अध्यक्ष नेपालले भने, “यो लडाइँ पदको निम्ति होइन, न्यायको निम्ति हो।”
यही विषयलाई आफूहरूले अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन चाहिरहेको प्रचण्डले बताए। “यहाँ लोकतन्त्रको हत्या भइरहेको छ भनेर हामीले भनिरहेका छौँ,” उनले भने। विभिन्न विदेशी शक्तिहरूको आ-आफ्नै हित र चासो भएको हुनसक्ने भएपनि संसद् विघटनपछि उब्जिएको वर्तमान परिस्थितिको निम्ति केवल प्रधानमन्त्री ओली जिम्मेदार रहेको उनले बताएका थिए।




