रिबन

कांग्रेस संयुक्त आन्दोलनमा जान नचाहनुको कारण प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निम्त्याएको प्रतिगमनविरुद्ध अहिले सबै पक्ष छुट्टाछुट्टै आन्दोलनमा छन् । नेकपाबाट चोइटिएको प्रचण्ड–माधव समूहले निरन्तर सडक आन्दोलन गर्दै आएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सडक आन्दोलन गरिरहेको छ । जसपाले पनि देशभर आन्दोलन चर्काएको छ । नागरिक समाज पनि आन्दोलित छ । तर, पनि प्रधानमन्त्री ओलीलाई त्यति फरक परेको छैन ।

डेढ महिनादेखि आन्दोलन गर्दा पनि सरकार नगलेपछि पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलगायत अहिले संयुक्त आन्दोलनको वकालत गरिरहेका छन् । तर, उनीहरूले संयुक्त आन्दोलन गर्न गरेको प्रस्तावप्रति नेपाली कांग्रेसका नेताले ठाडै अस्वीकार गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइराला मात्र होइन, संस्थापन पक्षका एनपी साउदसम्मले कांग्रेसले संयुक्त आन्दोलनमा जाने होइन, बरु एक्लै सडक आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन् ।

ओलीले संसद् विघटन गरेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गएर विपक्षी पार्टीहरूले कांग्रेस नेतृत्वमा आन्दोलन गर्नुपर्ने प्रस्ताव गरेका थिए । एक्लाएक्लै आन्दोलन गर्दा प्रतिगमन परास्त नहुने भन्दै प्रचण्ड, बाबुरामको आग्रहप्रति नेपाली कांग्रेसले किन इन्कार गर्दै आएको छ त ? यसका लागि फेरि पनि तीन वर्षअघि जानुपर्ने हुन्छ ।

संविधान जारी भएपछि त्यसको कार्यान्वयनका लागि तीन तहको निर्वाचन आवश्यक थियो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । माओवादी पनि सरकारमा थियो । तर, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि माओवादीले तत्कालीन एमालेसँग वाम एकताको सहकार्य गरेर कांग्रेसलाई धोका दियो ।

सरकारमा रहेको पार्टीलाई धोका दिएर विपक्षी पार्टीसँग वाम एकता गर्ने र पछि दल एकता गर्ने निर्णय गरेपछि कांग्रेस सभापति देउवाले अबदेखि माओवादी नेताहरुलाई कहिल्यै पनि विश्वास गर्न नसकिने निर्णय गरेका थिए । अहिले प्रचण्ड–माधव नेपाललगायत सडकमा अलपत्र पर्नुको कारण पनि त्यही हो । जबसम्म कांग्रेस सशक्त ढंगले सडकमा ओर्लिदैन, तबसम्म ओली प्रतिगमन परास्त हुँदैन । कांग्रेसले निर्वाचन अस्वीकार गरेमा मात्र सरकार संकटमा पर्ने हो । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन नचाहँदैमा केही हुन्न, जबसम्म कांग्रेसले मुख खोल्दैन, प्रचण्ड–बाबुरामको केही पनि लाग्दैन ।

अहिले बाबुरामले कांग्रेसलाई गाली गर्नुको कुनै तुक छैन । कांग्रेसकै सहयोगमा गोरखाबाट निर्वाचन जितेका बाबुरामले संसद् गएलगत्तै कांग्रेसलाई गाली गर्न थाले । अहिले पनि उनी कांग्रेसलाई गाली गर्दै आएका छन् । अबको निर्वाचनमा कांग्रेसले सहयोग नगरेमा बाबुरामले कसरी निर्वाचन जित्छन् ? अहिलेदेखि नै चासो उत्पन्न भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *