काठमाडौं । नेपाली कांग्रेसको ३५ जिल्ला कार्यसमितिले मात्र क्रियाशील सदस्यको सूची केन्द्रीय कार्यालयमा बुझाएका छन्। क्रियाशील सदस्यता सूची बुझाउन अब चार दिन मात्र बाँकी छ । पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति माघ मसान्तलाई तोकेको थियो।
समय सीमाभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यताको सूची आउने क्रम जारी छ । तोकिएको समयसीमाभित्र क्रियाशील सदस्यताको सूचि पठाउन जिल्लाले सक्रियता देखाएको पार्टी कार्यालयले जनाएको छ । १४ औं महाधिवेशनका लागि कांग्रेसले यसअघि मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लगाउने कार्यतालिका बनाएको थियो।
कोरोना महामारीलगायतका कारण मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लागेको थिएन। सोही कारण १९ पुसको केन्द्रीय समिति बैठकले सबै प्रक्रिया पूरा गरी माघ मसान्तभित्र क्रियाशील सदस्यको सूची बुझाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।
अहिलेसम्म ३५ जिल्लाको सूची प्राप्त भएको छ। जिल्लाबाटै सर्भरमा टाइप गर्ने व्यवस्था मिलाइएको छ,’ पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘माघ मसान्तसम्म ६० जिल्लाको सूची प्राप्त होला।’
समायोजन विवाद जिवितै
तीनवटा जिल्लामा समायोजनको काम नै हुन सकेको छैन। बारा, सिन्धुपाल्चोक र सप्तरीमा भौगोलिक समायोजन हुन बाँकी छ । निर्वाचन समितिले ७४ जिल्लाको समायोजनको काम सके पनि विवादका कारण तीन जिल्लाको समायोजन टुंगो लगाउन सकेको छैन। पुस ३ गते समितिले तीन जिल्लाको फाइल केन्द्रीय समितिमा फिर्ता पठाए पनि माघ १३ गतेको केन्द्रीय समितिले तीन जिल्लाको विवाद मिलाउन समितिलाई नै जिम्मेवारी दिएको छ । कांग्रेसलाई २०७८ भदौसम्म महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था छ।




