काठमाडौं । प्रधानमन्त्री बनेका तीन कांग्रेस नेतालाई नेपालको संविधान जारी गर्ने श्रेय जान्छ । उनीहरू हुन् कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला ।
संयोगवश तीनै नेता कांग्रेसका सभापति बने । भट्टराईलको पालामा २०४७ सालको, गिरिजाप्रसादले ०६२÷६३ को अन्तरिम संविधान र सुुशील कोइरालाले नेपालको संविधान २०७२ जारी भएको थियो । २०४६ पछि नेपाली कांग्रेसकै प्रधानमन्त्री हुँदा तीनवटै संविधान जारी हुनु आफैंमा महत्वपूर्ण हो । त्यसैले नेपालको संसदीय व्यवस्थाको इतिहासमा कांग्रेसको भूमिकालाई कसैले गौण बनाउन सक्दैन ।
वर्तमान अवस्थामा नेपालमा जुन संविधान जारी भएको छ, त्यो संविधान जारी गराउन सुशील कोइरालाले निकै ठूलो भूमिका खेलेका थिए । यदि सुशीलबाहेक अरु कोही नेता त्यसबेला प्रधानमन्त्री बनेका थिए भने संविधान जारी हुन निकै किठन थियो । तर, सुशील कोइराला जो त्यसबेला कांग्रेस सभापति पनि थिए, भारतको त्यत्रो दबाबको बाबजुद पनि संविधान जारी गरेर इतिहास बनाएका छन् ।
उनै त्यागी र निष्ठावान नेता सुशील कोइरालाको आज छैटौं स्मृति दिवस । २०७२ माघ २६ गते उनको अचानक निधन भएको थियो । प्रधानमन्त्रीबाट हटेको पाँच महिनामै उनको निधन भएको थियो । सुशील कोइरालाको छैटौं स्मृति दिवसका दिन नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले यसरी सम्झेका छन् ।
पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति, संविधानका पिता, निष्ठा र त्यागका प्रतिमूर्ति आदरणीय सुशील दाको छैठौं स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । आजको राजनीतिमा स्व।सुशील दाको सादगी जीवनशैली, नैतिकता र राष्ट्रप्रतिको जावफदेहीता हामी सबैका लागि अनुकरणीय छ । संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र जनताको सेवा गर्नु नै साँचो अर्थमा सुशील दाप्रतिको सच्चा श्रद्धाञ्जलि रहनेछ । जय नेपाल ।




