रिबन

ओली ‘वान म्यान आर्मी’, अबको नेता को ?

काठमाडौ । सत्तारुढ दल नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी ओली समूहमा नेताको खडेरी लागेको छ । माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको समूहमा नेताहरु संख्या धेरै भएको र पार्टी हाँक्ने नेताहरु पनि उलेख्य भएको अवस्थामा ओली समूहतिर ओली मात्रै नेताको रुपमा देखिएका छन् ।

प्रधानमन्त्री ओलीपछि सो समूहको नेता को हुने भन्नेमा अझै अन्योल रहेको छ । उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलको पक्षमा ओली समूहकै धेरै नेताहरु खुल्न नसकेको बेला पोखरेललाई उछिनेर अरु नेताहरु पनि तत्कालै नेतृत्वमा आउने सम्भावना पनि छैन ।

विगत एक महिनायताका सबै सार्वजनिक कार्यक्रममा ओली प्रमुख वक्ता भएका छन् । ईश्वर पोखरेल वा सुवास नेम्वाङ कोही नेता प्रमुख वक्ता भएर सहभागी भएका छैनन् । प्रधानमन्त्री ओली आफू सबैजसो कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्ता भएको बेला पोखरेल दोस्रो र तेस्रोमा रामबहादुर थापा बादल वक्ता देखिएका छन् ।

ओली समूहमा देखिएका नेताहरुमा पोखरेलका अतिरिक्त बादल, सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, प्रदीप ज्ञावाली, त्यसपछि गोकुल बास्कोटा, खगराज अधिकारी, महेश बस्नेत वा भानुभक्त ढकाल मात्रै छन् ।

पूर्वमाओवादी समूहबाट आएका टोपबहादुर रायमाझी वा लेखनाथ भट्टले नेतृत्व सम्हाल्ने अवस्था छैन । उनीहरुले संगठन विस्तार गर्ने विषय पनि गौण बन्दै गएको छ । यसरी हेर्ने हो भने ओली मात्रै एउटा ‘फष्ट म्यान’का रुपमा देखिएका हुन् । केशव बडाल वा सोमनाथ प्यासीहरुले संगठन बनाउने अवस्था छैन । त्यस्तै, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङहरुलाई ओली समूहले फष्टम्यान स्वीकार गर्ने अवस्था छैन । पूर्वमाओवादी समूहबाट आएकाहरु पनि फष्टम्यान बन्ने अवस्था छैन ।

विष्णु पौडेललाई शंकर पोखरेलहरुले फष्टम्यान स्वीकार गर्ने अवस्था छैन । सुवास नेम्वाङले सबैलाई समट्न नसक्ने र ईश्वर पोखरेल संकुचित मानसिकता भएकाले फष्ट म्यान हुन नसक्ने भएकाले ओली समूहमा सर्वस्वीकार्य नेतृत्व अभाव भएको हो ।

देशभर ओली समूहले आफ्नो संगठन विस्तारका लागि आफै भाषण दिएर हिँड्न थालेका छन् । किसान संघको सभादेखि युवा विद्यार्थीहरुको भेलासम्म ओली सिंगलम्यान र फष्टम्यानका रुपमा देखिएका छन् । सबैतिर अरु नेताको भाषणभन्दा ओलीकै भाषण सुन्न मानिसहरु जम्मा हुने गरेका छन् । दाङमा शंकर पोखरेलले ओलीलाई लगेर पुल उद्घाटन गराए, पर्वतमा सवस्टेशन उदघाटन गर्न ओली नै सहभागी भए । प्राधिकरणका कार्यकारी निर्देशकले नै सो परियोजना उद्घाटन गर्न सक्थे वा ऊर्जामन्त्रीले नै गर्न सक्थे । तर ओलीले राज्यका सबै अंगलाई दुःख दिने काम गरे । प्रतिघण्टा एक लाख ५० हजार बराबरको भाडा पर्ने सेनाको हेलिकप्टर दुरुपयोग गरे ।

बिहीबार उनले त्यसैगरी राज्यको स्रोत र साधनको दुरुपयोग गर्दै पर्वतको कुस्मा पुगे । प्राधिरकणले ५० प्रतिशत मात्रै काम सकिएको बताएको प्रसारण लाइनको उद्घाटन गरे । उनले चुनाव घोषणा गरेपछि विकासे कार्यक्रम उद्घाटनदेखि कार्यकर्ताको भेलासम्ममा आफै भाषण दिन पुग्छन् ।

भर्खरै मिर्गौला प्रत्यरोपण गरेका प्रधानमन्त्री ओली आफै यसरी दौडिएका छन् कि मानौ उनी फेरि पनि राज्यको बागडोर सम्हाल्न आउँदैछन् । तर पार्टी विभाजन भएपछि भने उनी सत्तामा पुग्ने सम्भावना कमजोर बन्दै गएको छ । तर पनि ओली राज्यशक्तिको समेत प्रयोग गरेर देश दौडाहमा लागेका छन् । उनी अब हुने बुटवलको सभा र विराटनगरको सभामा समेत सम्बोधन गर्न पुग्दैछन् ।

शुक्रबार राजधानीमा भएको आमसभा पनि उनकै भाषण सुन्न कार्यकर्ताहरु लालयित भएको देखिन्थे । काठमाडौको कार्यक्रममा ईश्वर पोखरेल र बादल खासै जम्न सकेनन् । उनीहरुको भाषण खास दमदार नभएपछि आयोजकले नै छोट्याउन आग्रह गरेका थिए । ओलीले मात्रै सवा घन्टा भाषण गरेका थिए ।

त्यति मात्र होइन, प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको सरकारको कामचलाउ प्रधानमन्त्रीले विकास निर्माणका काम, घोषणा, शिलान्यास, उद्घाटनसमेत गर्न पाउँदैनन् । नियमित प्रधानमन्त्री जसरी नै कानुन, विधि र संविधानमाथि बलात्कार गर्दै हिँडेका ओलीले मञ्च पाएपछि कम्तीमा सवा घण्टा भाषण दिने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *