आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । सबै पत्रिकाको पहिलो पेजमा बैतडीमा भएको घटनाले भने प्राथमिकता पाएका छन् ।
अन्नपूर्ण पोस्ट्ले भागरथीको हत्याः भेटिएन हत्याराको सुराक शिर्षकमाा मुख्य खबर छापेको छ । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन। यो खबर सँगै जोडेर अन्नपूर्णले अर्को खोजमुलक खबरपनि छापेको छ । चार वर्षमा बलात्कारपछि १७ को हत्या शिर्षकमा समाचार छ । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्।
बैतडी घटनालाई नागरिक दैनिक र राजधानी दैनिकले पनि छापेको छ ।
राजधानी दैनिकमा भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि भएको लेखेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।
त्यस्तै एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा शिर्षकमा अर्को समाचार छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस अबको एक साताभित्र सक्न सरकारी वकिललाई समयसीमा तोकेका छन् । प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश बडालले बहस गरिरहँदा सो समयसीमा तोकेका हुन् ।
नागरिक दैनिकले पनि पहिलो पृष्ठमा बैतडीकै घटनालाई स्थान दिएको छ भने सर्वोच्चमा चलिरहेको बहसलाई पनि पहिलो पृष्ठमा छापेको छ ।




