रिबन

करिश्मा मानन्धर भन्छिन्, नेपालका केही पुरुषको मानसिकतामा यौन अपराध थुप्रिएको छ

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जसरी हत्या गरिएको थियो, त्यसरी नै भागरथीको जीवनलीला समाप्त पारिएको छ ।


बालिका र किशोरीको बलात्कारपछि हत्याका घटनामा वृद्धि भएपछि अहिले नेपाली समाज हिंस्रक र अपराधतिर उन्मुख हुँदै गएको छ भनेर विश्लेषण गर्न थालिएको छ । बैतडीमा भएको पछिल्लो घटनाले निर्मला हत्याको पुनरावृत्त गरेको देखिन्छ । उनका परिवारले निर्मलाको जस्तै नियति त दोहोरिँदैन भनेर चिन्ता गर्न थालेका छन् ।


यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले बैतडी घटनालाई लिएर निकै आक्रोश पोखेकी छन् । उनले यस्ता घटनाले नेपालका केही पुरुषको मानसिकतामा यौन अपराध थुप्रिएको टिप्पणी गरेकी छन् । भागरथी भट्टको बलात्कारपछि हत्या घटना नेपाली समाजको एक विकराल सामाजिक समस्या भएको र यसलाई समयमा नै समाधान गर्नु जरुरी रहेको उनको भनाइ छ ।अभिनेतृ मानन्धरले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा प्रस्तुत गरेकी हुन् ।

उनले लेखेकी छन्–
बैतडीमा १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या । नेपालका केही पुरुषहरुको मानसिकतामा यौन अपराध थुप्रिएको छ । त्यसैले बारम्बार यौन अपराध भईरहेका छन् । यो एक विकराल सामाजिक समस्या हो । यसलाई समयमा नै समाधान गर्नु जरुरी छ ।


राजनीतिक दल, मानव अधिकारकर्मी, सामाजिक धार्मिक अभियन्ता, नागरिक समाज, कलाकार, समाजसेवीहरु सबैले मिलेर समाजमा सभ्य, अनुशासित, नैतिक र सद्भावपूर्ण वातावरण सिर्जना गर्नेतर्फ पाईला चाल्नुपर्यो ।समाजलाई शिक्षित, नैतिक, अनुशासित, सभ्य र सद्भावपूर्ण बनाउनबाट हामी चुकिरहेका छौँ, कि ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *