काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) की नेतृ पम्फा भुसालले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा आपत्ति जनाएकी छन् । नेपालको संविधानमा प्रधानमन्त्रीकी पत्नीलाई प्रथम महिला र बाँकी महिलालाई दोस्रो नबनाएको उनले जनाएकी छन् ।
नेकपा (ओली समूह) का नेता कार्यकर्ताले प्रधानमन्त्री ओली पत्नीलाई प्रथम महिला भनेर सम्बोधन गर्दै आएका छन् । उनीहरूका लेख रचना तथा भाषणमा राधिका शाक्यलाई प्रथम महिला भन्न थालिएपछि नेतृ भुसालले संविधानमा यस्तो प्रावधान उल्लेख नभएको स्पष्ट पारेकी हुन् ।
उनले आइतबार बिहान फेसबुकमा लेखेकी छन्, ‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो बनाएको छैन है।’ एक महिलालाई प्रथम भन्दा बाँकीलाई दोस्रो भनेर विभेद हुन जाने उनको भनाइ छ । लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने उनले जनाएकी छन् । राजतन्त्रात्मक व्यवस्था जस्तो वंशवाद अहिले कायम नभएको नेतृ भुसालले स्पष्ट पारेकी छन् ।
‘लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुनछ ।वंसवाद र परिवारको सामन्ती राजतन्त्रात्मक व्यवस्स्था जहाँ राजाकी श्रीमती महारानी, छोराछोरी युवराज युवराजकुमारी हुन्थे । लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफै निर्माण गर्ने हो । सबैलाई समानता र स्वाभिमान प्रदानगर्ने लोकतान्त्रिक गणतन्त्र ज़िन्दाबाद । महिलालाई दास बनाउने सामन्ती पितृसत्ताबाद मुर्दावाद,’ भुसालले लेखेकी छन् ।




