रिबन

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस,आजबाट मौसम सुधार हुने

काठमाडौं । हिमपातका कारण अहिले काठमाडौंसहित देशभर चिसो बढेको छ । हिजो काठमाडौंसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो ।

काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।

मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ ।

सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रबारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वायुको प्रभावका कारण हिमपात र केही ठाउँमा हल्का वर्षा भएको मौसमविद्ले बताएका छन् । आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने मौसमविद् सजिना शाक्यले बताए ।

पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजबाट गर्मी सुरु हुने पनि मौसमविद्ले जनाए । लामो खडेरीपछि देशमा बिहिबारबाट हेउँदे वर्षा भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *