विचार

जनताले पाएको परिवर्तनको प्रतिफल

देशको अस्थिर र अनिश्चित राजनीतिक वातावरणले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई विदेसिन बाध्य बनायो । त्यो बाध्यता क्रमशः नियमित बन्दै जान थाल्यो । सपनाको संसारप्रतिको आकर्षण त एउटा कारण मात्रै थियो, यसमा आफ्ना छोराछोरी अमेरिका, यूरोप, क्यानडा, अस्ट्रेलियामा छन् भन्दा गौरव गर्ने राजनीतिकर्मी, प्रशासक, व्यापारी, न्यायाधीशलगायतको सोच र चिन्तन अनि त्यसकै सेरोफेरोमा बनेको नीति नियम र सामाजिक दृष्टिकोण आज नेपालको यथार्थता भएको छ । राजनीतिक अस्थिरताको कारण विदेसिनु उत्तम विकल्प हो भन्ने धारणा सबैमा विकसित भएको देखिन्छ । सम्पन्न परिवारका मानिसहरु पनि आफ्ना सन्तानलाई अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउन लालयित देखिन्छन् । त्यहाँ के गर्छन्, कस्तो पेशा वा व्यवसायमा छन्, सन्तुष्ट छन् वा छैनन् ? त्यही नै विकल्प हो त ? भन्ने प्रश्नको जवाफ सन्तोषजनक छैन ।

कानुनको शासन र मानवअधिकारको सुनिश्चिता भएको देशमा जान वा पठाउन पाउँदा उनीहरुको जीवन सुरक्षित छ भन्ने महसुस हुन्छ । नेपालमा के गरेर बस्नु ? राजनीतिक दलको जिन्दावाद, मुर्दावादमा सामेल भएर असुरक्षित जीवन जिउनभन्दा सम्पन्न र विकसित देशमा गएर श्रमिक जीवन बिताउन श्रेयष्कर भएको निष्कर्ष निकाल्न थालिएको छ । नीति निर्माता र नेतृत्वकर्ताहरु नै आफ्ना सन्तानलाई त्यही शिक्षादीक्षा, वातावरण र परिस्थिति निर्माणमा क्रियाशील छन् । अधिकांश ‘नेता’ उच्चपदस्थ सरकारी कर्मचारी, न्यायाधीश, व्यापारी र जसरी पनि पैसा कमाउन भ्याएका ठेकेदार, विचौलिया तस्कर, माफिया डन सबै सबैका छोराछोरी र नजिकका नातेदार आज नेपालमा छैनन । बसोबास गर्न रुचाउँदैनन्, चाहदैनन् ।

काम चलाउँमा चित्त बुझाउँदा दलहरु भित्रको इमान्दारिता, मौलिकता र निष्ठा क्रमशः पाखा लाग्दै गयो ।

नेपालको शासकीय निकायमा वर्चश्व राख्ने तमाम पदाधिकारी तथा सदस्य एवम् उच्च पदस्थ कर्मचारीहरुका छोराछोरी नेपालमा छैनन्, राख्न चाहदैनन् । आफ्ना सन्ततीको भाग्य र भविष्य नदेख्ने व्यक्तिहरुले बनाउने नीति, नियम, कानुन व्यवस्था कसको हितमा हुन्छ ? कति त आफ्नो राहदानीमा पाँच वर्षको प्रवेशाज्ञा लिएर प्रतिकूल अवस्थामा देश छोड्ने मानसिकतामा मुलुकको बागडोर सम्हालिरहेका छन् । यस्तो मानसिकता, सोच एवम् चिन्तन बोकेका व्यक्तिहरुले नेपालको भाग्य र भविष्यको चिन्ता लिन्छन कि लिँदैनन् ? सुधार हुनुपर्ने क्षेत्रको लागि गम्भीरता देखाएर काम गर्छन् वा गर्दैनन् ? त्यसको उचित हिसाब किताब कसले राखेको छ ? मूल्यांकन भएको होला र यस्तो सम्वेदनशील विषयहरुमा ?

आफ्नो स्वार्थका खातिर मुलुकको अस्तित्व नै समाप्त गर्न अग्रसर हुने प्रवृत्ति फस्टाउँदै गएको अवस्थामा यसतर्फ ध्यान पुग्न नसक्नु अस्वाभाविक होइन होला । आफन्तमुखी चिन्तनले स्थान पाएको क्षणमा मुलुकको समग्र विकास र प्रगतिको लागि काम गर्ने जागर कसैमा देखिदैन । इमान्दारिता सदैव पराजित हुने वातावरण बनाइएको छ । जसले बढी बद्मासी गर्न सक्यो उसकै स्थान माथि हुने पद्धति स्थापित हुँदै गएको छ ।

गाली गलौजको भाषा शैली र प्रस्तुति हेर्दा सत्तारुढ नेकपाका नेताहरुले आम कलिला बालबालिकाहरुलाई के शिक्षा दिइरहेका छन् ?

सत्ताधीशहरुको यो स्तरले नै होला भरखर माध्यमिक तह पूरा गरेका विद्यार्थीहरु देशमा उच्च शिक्षा हासिल गर्न इच्छुक छैनन् । सकिन्छ, विकसित देशमा जान प्रयास गर्ने, सकिँदैन खाडी मुलुकमा श्रमिक हुन जाने, त्यो पनि नभए भारतीय श्रम बजारमा चित्त बुझाउनुपर्ने बाध्यताको विकल्प स्वीकार गर्दछन् । कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले संघीय गणतन्त्रको नारा दिएर आन्दोलनमा उतार्न प्रोत्साहित गर्ने राजनीतिक दलहरु दुईतिहाइको सरकार संचालन गर्ने क्षमता राख्दैनन ।

आफ्नो पार्टी मिलाउन सक्दैनन र जनप्रतिनिधिमूलुक संस्था प्रतिनिधिसभा विघटन गर्न पुग्छन् र सडकमा विभिन्न तमासा देखाउँछन् । विरोधमा बन्द गर्छन्, समर्थनमा सभा गर्छन् । एक पक्षले अर्को पक्षमाथि आरोप लगाउँछन् । जनतालाई दुःखमाथि हैरान दिन्छन् । देशलाई असफल र कंगाल बनाउन लागि पर्छन् । अनि युवाहरु देशभित्र आफू र आफ्नो परिवारको भविष्य देख्दैनन् र विदेसिनु नै पर्ने एक मात्र विकल्प बाँकी रहेको निष्कर्षमा पुग्छन् ? के यही नै हो परिवर्तन, समृद्धि, विकास, लोकतन्त्र अनि गणतन्त्र ?

देशको माया र जनताप्रतिको जिम्मेवारी बहन गर्ने इच्छाशक्ति राजनीतिक नेतृत्वमा देखिँदैन ।

सबैले आफ्नो सीमा नाघेसके । गलत संस्कार र संस्कृतिको विजारोपण गरेका छन् । समाल्न नै नसक्ने अराजक स्थिति बनाउँदै छन् । मुडभेडको वातावरण बन्दैछ । यस्तै अवस्थामा आफ्नो स्वार्थ अनुकूलको व्यवस्थापन गर्न सकिन्छ भन्ने रणनीतिक र सामारिक स्वार्थ भएका शक्तिकेन्द्रहरु आफ्नो क्रियाशीलता देखाउँदै छन् । नेपाललाई आफ्नो सामारिक स्वार्थभित्र समेट्न चाहाने सोच र दृष्टिकोण बलशाली हुँदैछ । यतारित राजनीतिक दलहरुको ध्यान गएको छैन ।

सत्तामुखी सोच र चिन्तन अनि रणनीतिक केन्द्रीय शक्तिकेन्द्रहरुको इसारामा आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्नतर्फ दलका पदाधिकारीहरुको ध्यान गएको छ । देशको माया र जनताप्रतिको जिम्मेवारी बहन गर्ने इच्छाशक्ति राजनीतिक नेतृत्वमा देखिँदैन । विरोध र समर्थनमा निस्कने आवाज मुलुकको आवश्यकता र जनताको भावनातर्फ कति पनि प्रिय छैन । अनुहार बिगारेर दलहरुले गरेका कार्यक्रमबाट हैरानी दुःख, कष्ट र समस्या बहन गर्न नेपाली जनता बाध्य भएका छन् ।

समस्याको समाधान दिन सक्ने सामथ्र्य र क्षमता भएको नेतृत्व नेपालले पाउन सकेन । प्राप्त वा उपलब्ध भएको इमान्दार, योग्य र राम्रा मान्छेलाई स्वीकार गर्ने वातावरण नै बनेन । बल प्रयोग, पैसा परिचालन र हनुमान खोजीमा नै सबै होसिए । प्रकारान्तरले यो प्रवृत्तिको रुपमा मौलाउँछ भन्ने चेतनाको अभाव देखियो । सुधार गर्ने आँट कसैले गरेनन । काम चलाउँमा चित्त बुझाउँदा दलहरु भित्रको इमान्दारिता, मौलिकता र निष्ठा क्रमशः पाखा लाग्दै गयो । बिहान बेलुका देखिने, घर, कोठा चहार्ने, पेशा व्यवसाय केही नगर्ने, दलाली र विचौलियाको भूमिका निर्वाह गर्ने ‘दास’ हो वा ‘भक्त’ रुचाउने नेतृत्वको शैली, सुविधाभोगश्र जीवन तथा सिद्धान्त र आदर्शविहीन राजनीतिले दुर्घटना सम्मुख ल्याएको छ । एकपटक पुनः नेपाली राजनीतिलाई यसै भन्न सकिँदैन, जे पनि हुनसक्छ । अब के हुन्छ भन्नेलाई दिने जवाफ यस्तै हुन्छ । ओली, दाहाल–नेपाल वा देउवालाई पनि भोलिको अवतरण यसै हो भन्ने प्रष्ट छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *