कला/साहित्य

बाँस

छेडेर धर्ती आकाश खोज्दै उचालिन्छ बाँस
र बिर्सिदै जान्छ उसले आफूसितको लाज सरमलाई
नङ्ग्याउँदै गर्छ आफूलाई
वस्त्रहीन आफ्नै बंशज अघिल्तिर
लाग्छ पछि पर्दैछ ऊ
अपरिपक्क उन्माद र अभिमानले ।
० ० ०
जति जति हुर्किन्छ बाँस
हरेक उचाइमा आँखा उघार्दै गर्छ ऊ
आँखा तर्दै गर्छ ऊ
तर, बुझ्दैन किन ?
लाज खुस्केको आफ्नै शरीरको
धोती खुस्केको आफ्नै कम्मरपेटीको
जति अग्लिंदै जान्छ उति उति
थुप्रिन्छ लाजको बग्रेल्ती छरपस्ट जमिनभरि
बिर्सिदै जान्छ आमाको काख
ठडिंदै जान्छ ऊ बन्दै मर्यादाहीन
नाङ्गिदै अग्लिन्छ बेपरवाहसित बयस्क तामा
सायद बिर्सिन्छ उसले वरिपरिका आमा –मामाहरूलाई ।
जूनघाम छुने दाउमा
बैंस साटेर अग्लिन्छ
भरिन्छ उसमा पहाड उछिन्ने अहङ्कार
टुक्रिएर फुक्लिएर भाँच्चिएर छिप्पिएर कुनै वेला
बन्छ राँको हराउँछ आफ्नो आकार
लाग्छ, नबिर्सिओस् उसले आफ्नै परिवेश र परिवार
नऔताओस् फर्माउन लाज सरम
नजन्माओस् उपल्लो उन्माद र मदोन्मत्तपन
औताउँदा बालहठझै दुरुस्त लाग्छ बाँस
उग्र आकांक्षामा हड्बडाएर उचालिन्छ बाँस
अग्लेर आकाश भेट्न नभ्याएपछि
पराजित आजित मानसिकतामा निरास बन्छ बाँस
घोप्टिएर नुहुन्छ ऊ
र उसमा सुरु हुन्छ बर्बराहट
चौथाई जीवन कुप्रिएको हुन्छ आभास
आँधीबेहरीको चक्रव्यूहमा खेलेर सैसला कहिले
हरेक शिशिर–वसन्त पर्खेर हल्लिरहन्छ
सायद साहस बटुलेर हुर्केको बाँस
आखिर घोसेमुन्टो लाएर निहुरिरहन्छ ।

० ० ०

मादी न पा ६, सङ्खुवासभा, हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *