काठमाडौं । प्रतिनिधिसभा विघटन र त्यसपछि विकसित घटनाक्रमका विरुद्धमा नेपाली कांग्रेसले आन्दोलन अझ व्यापक बनाउन सबैसँग अपिल गरेको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका विरुद्धमा आन्दोलन अझ व्यापक बनाउनुपर्ने निष्कर्षमा नेपाली कांग्रेस पुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा नेपाली कांग्रेस र भ्रातृ संस्थाहरुबाट व्यापक सहभागिता साथ प्रदर्शन गरिएको छ भने भोलि माघ २४ गते शनिबार शुभेच्छुक संस्थाहरुको प्रदर्शनपश्चात फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्व निर्धारित छ ।
सर्वसत्तावाद उन्मुख विघटनका विरुद्धमा जुटौं
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै नेपाली कांग्रेस आन्दोलनमा छ । विघटन लगत्तै नेपाली कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रम मार्फत व्यापक जनमत प्रकट भइरहेको छ ।
जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं
नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं । संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं । विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।
विधि विपरीतको प्रवृत्तिप्रति प्रष्ट विमति
संवैधानिक परिषदसम्बन्धी संविधानमा ब्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरु देखि नै कुल्चिंदै आएको बिषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रष्ट रुपले विरुद्धमा उभिएको छ । संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी प्रवक्ता शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




