काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति बदरको माग राखी शुक्रबार सर्वोच्च अदालतमा रिट हालेका छन् । सापकोटाले पेस गरेको निवेदन दर्ता गर्दै निवेदनमा सुनुवाइका लागि आइतबार (माघ २५ गते) को मिति तोकेको छ ।
सभामुखले संवैधानिक आयोगहरुमा गरिएको सिफारिस र नियुक्ति असंवैधानिक भएको दाबी गरेका छन् । सापकोटाले निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् ।
नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन र उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने सभामुख सापकोटाले रिटमा उल्लेख गरेका छन् ।
संवैधानिक अंगमा पदाधिकारी नियुक्तविरुद्ध रिट हाल्न सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार बिहान उनी आफैं रिट लिएर सर्वोच्च पुगेका हुन् । सापकोटासँगै विघटित प्रतिनिधि सभाका सांसद शशी श्रेष्ठ र रामकुमारी झाँक्री पनि सर्वोच्च पुगेका थिए।




