रिबन

तपाईहरू किन प्रचण्ड र माधवलाई मात्रै हेर्नुहुन्छ ? ओलीबाट गुण्डाराज नै ल्याइयो

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गुण्डाराज कायम गर्न खोजिएको बताएका छन् । शुक्रबार बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रचण्डले एउटा व्यक्तिको निरंकुशता र स्वेच्छाचारिताले हद नाघेको, केपी ओलीको कार्यशैलीले तुरुन्त आन्दोलनमा जानु परेको बताए ।

उनले देशमा प्रधानमन्त्री केपी ओलीले प्रतिगमन ल्याएको बताए । देश नै आन्दोलनमा गएको बताए । उनले आफूहरु मात्र नभएर बुद्धिजीवी, कवि, कलाकार, कानुन व्यवसायी, पत्रकार सबै ओलीको कदम प्रतिगमन हो भनेर लागेको जनाउँदै भने, ‘उनीहरु कम्युनिस्ट पार्टीका सदस्य भएर लागेका हुन् र ? कांग्रेस, जसपा किन सडकमा छन् ? पदको मात्र लडाइँ हुन्थ्यो भने केपीबाहेक सबै किन विरोधमा छन् ? अवसरवादी, स्वार्थी, तुच्छ फाइदाका लागि लाग्नेहरु ओलीको समर्थनमा छन् । हिजो पञ्चर्याली पनि हुन्थ्यो । मान्छेको टाउको गन्ने होइन । हिजो लाखौं मानिस पञ्चर्यालीमा हुँदा पनि हामी आन्दोलनमै थियौं । मुद्दा हेर्नुस् ।’

संवैधानिक परिषदमा नियुक्त भएका कानुनी, संवैधानिक हिसाबले लोकतन्त्रविरुद्ध पराकाष्टा भएको बताए । उनले रातारात अध्यादेश ल्याएर बैठक बसाइएको बताए । कमसेकम ४८ घन्टाअघि बैठक बस्नुपर्ने र कोरम नै नपुगेको बैठकले गरेका नियुक्ति कसरी वैधता हुन्छ भन्ने उनको भनाइ थियो ।

‘स्थायी समितिमा नियुक्ति नै गरेको छैन भन्नुभयो । अध्यादेश फिर्ता गर्छु भन्नुभयो । तर, गर्नु भएन । तपाईहरू किन प्रचण्ड र माधवलाई मात्रै हेर्नुहुन्छ ?’ प्रचण्डले भने । समग्र परिवर्तनको प्रक्रिया, संघीयता, निर्वाचनपछि स्थायित्व हुनेछ, विकासको काम अघि बढ्नेछ, शान्तिपूर्ण ढंगले राजनीति अघि बढाउन पार्टी एकताको संकल्प गरौं भनेर आफूले प्रस्ताव गरेको उनले बताए ।

देश यो हदसम्मको दुर्घटनामा पुग्नुको कारणबारे आफूहरु समीक्षाको अवस्थामा रहेको र चाँडै श्वेतपत्र सार्वजनिक गर्ने उनले बताए । ‘हामी आन्दोलनमा छौं । हीनताबोध भएर कोही आन्दोलनमा जाँदैन । संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा छौं । हामी कोही पनि पलायनको पक्षमा छैनौं । लडाइँको मैदानमा छौं,’ उनले भने । प्रचण्डले संयुक्त आन्दोलन हुने बताए । त्यसका लागि छलफल चलिरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *