काठमाडौं । ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान यतिबेला नेकपा ओली समूहले चरितार्थ गरिरहेको छ । नेकपा ओली सत्तारुढ दल पनि हो । सत्तारुढ दल सडक आन्दोलनमा निस्किएको घटना संसारमा विरलै देखिन्छ । तानाशाही शासनसत्तामा यस्तो हुनु अनौठो होइन, तर प्रधानमन्त्री केपी ओली आफूलाई सच्चा लोकतन्त्रवादी ठान्छन् । व्यवहार चाहिँ निरंकुश तानाशाही देखाइरहेका छन् ।
ओलीले हरेक दिनजसो आफ्ना अनुयायीलाई प्रहरीको सुरक्षा घेरामा सरकारको समर्थनमा जुलुस निकाल्न लगाएका छन् । उनका कार्यकर्ताले विपक्षी (नेकपा प्रचण्ड–माधव समूह) विरुद्ध गालीगलौज गर्दै आएको छ । हिजो पञ्चायत र शाही शासनकालका बेला जसरी राजाको गुनगान गाउने गरिन्थ्यो, अहिले ठ्याक्कै उनका समर्थकले ओलीको भक्तिगान गाइरहेका छन् ।
सरकारमा नियुक्ति खान पाइने आशले अहिले ओली नेकपाले देशभर ताण्डव मच्चाएको छ । एउटा पार्टीले सरकारको विरुद्धमा विरोध प्रदर्शन गरिरहँदा सत्तारुढ दल सरकारको जयजयकारमा उत्रनु राजनीतिक असहिष्णुताबाहेक केही पनि होइन ।
आज नेकपा ओलीले राजधानी काठमाडौंमा जुलुस र जनसभा गरिरहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो शक्ति देखाउन जुलुस र जनसभाको घोषणा गरेका हुन् । कतिसम्म भने सरकारका मन्त्री नै नारायणहिटी पटांगिनीमा हुने जनसभामा सहभागी हुन उर्दी जारी गरिरहेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादललगायतका मन्त्रीहरूले सामाजिक सञ्जालमार्फत शुक्रबार नारायणहिटी पटांगिनीमा हुन गइरहेको जनसभामा सहभागी हुन आग्रह गरेका हुन् । सरकारमा रहेका मन्त्रीले जनतालाई सडकमा आइज भन्न मिल्छ ? तर, ओली सरकारका मन्त्रीहरूले निर्लज्ज काम गरिरहेका छन् । सरकार नै सडक आन्दोलनमा उत्रनु भनेको ऊ कति अलोकप्रिय रहेछ भन्ने पुष्टि हुन्छ ।




