आज संघीय राजधानीबाट प्रकाशित सबैजसो पत्रिकाहरु हिजाको आमहड्ताल र बन्दको परिदृश्य र समाचारले भरिएका छन् ।
आमहड्तालमा देखिएको दृश्य तोडफोडलाई सबैजसो पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएका छन् ।
अन्नपूर्ण पोस्ट्ले फेरि बन्दको सास्ती शिर्षकमा समाचार छापेको छ । नेपालीले बन्दको सास्ती झेल्नु नपरेको लामो समय भएको थियो। विगतमा अनेक बहानामा ‘नेपाल बन्द’ आह्वान गरिँदा नागरिक आजित थिए। तर, नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै आमहडताल आह्वान गरेपछि बिहीबार सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। आमहडतालप्रति सकारात्मकभन्दा नकारात्मक टिप्पणी बढी देखिएको छ। प्रमुख दलबाटै बन्दको आयोजना गरिनुले राम्रो सन्देश नगएको सुरक्षा अधिकारी बताउँछन्।
यो समाचारलाई सबै पत्रिको फरक फरक शिर्षकमा छापेका छन् ।
नागरिक दैनिकले लोकतन्त्रको जोगाउन सडकमा भन्दै लेख्छ, नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) समूहले बिहीबारको आमहडताल अधिनायकवाद र गणतन्त्रका विरोधीविरुद्ध भएको जनाएको छ। समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आमहडताल गणतन्त्रविरोधीविरुद्धको अभियान भएकाले जनतालाई थोरै दुःख भए पनि जनताकै पक्षमा र न्यायका लागि आफूहरू सडकमा आउनुपरेको बताएका छन्।
त्यसैगरी, एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर शिर्षकमा हाइलाइट गरी समाचार प्रकाशित भएका छन् । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।
राजधानी दैनिकले दाहाल-नेपाल समूहको बन्द, आगजनीदेखि तोडफोडसम्म शिर्षकमा समाचार छापेको छ । आमहड्तालले देशका विभिन्न जनजीवन प्रभावित बनेको खबर समाचारमा छ भने त्यही समाचारभित्र पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन् शिर्षकामा हाइलाइट गरेर समाचार प्रकाशित भएको छ । दाहाल नेपाल समूहको बन्दमा जलाइएको ट्याक्सीका चालकलाई गाडी भित्रै राखिएको खबर समाचारमा छ ।
नेकपाको दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपालबन्दको क्रममा काठमाडाैंको गोंगबुमा आन्दोलनकारीले ट्याक्सी जलाइदिएपछि चालक कुम्भनारायण श्रेष्ठ इन्तु न चिन्तु भए । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी चलाएर आउने पैसाले दैनिकी चलाउँदै आएका श्रेष्ठका लागि बिहीबारको बिहान अन्धकार जस्तै बनिदियो ।
आन्दोलनकारीले पेट्रोल छर्केर ट्याक्सी जलाइदिएपछि उनका लागि बिहानको समय पनि अन्धकार रातजस्तै बन्यो । ‘गरिखाने साधन नै जलाइदिए, निकै पापी रहेछन्, झन्डै ट्याक्सीसँगै मलाई पनि जलाइदिएनन्,’ श्रेष्ठले भने, ‘ट्याक्सी जलाइएको क्षण मैले केही देखिनँ, अन्धकार नै भयो ।’ उनले सर्वसाधारण नागरिकलाई पीडा दिएर गरिने यस्तो आन्दोलनको कुनै अर्थ नभएको बताए ।




