राजनीति

उपत्यकाको ट्राफिक अस्तव्यस्त पारेर प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले जनसभालाई सम्बोधन गर्ने

काठमाडौं । भोलि शुक्रबार उपत्यकाको ट्राफिक अस्तव्यस्त पारेर प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले जनसभालाई सम्बोधन गर्दैछन् । नेपाल कम्युनिष्ट पार्टी ओली समूहले आयोजना गरेको बागमति प्रदेशस्तरीय भेलालाई सरकारमा बसेका सरकार सञ्चालकहरुले सम्बोधन गर्न लागेका हुन् ।

राजधानीको व्यवसायिक केन्द्र दरबारमार्गमा आयोजना हुने उक्त भेलामा सहभागी हुनका लागि उपत्यकाका विभिन्न १२ स्थानबाट -याली निकालिँदै छ । जुलुस निस्केपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बन्नेछ भने त्यस क्षेत्रको व्यवसायिक गतिविधिसमेत ठप्प हुनेछ ।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए । सभा सम्पन्न गर्न पार्टी काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *