विचार

२००७ सालको क्रान्ति र स्व. नारदमुनि थुलुङ्ग


२००७ सालको क्रान्तिलाई स्व. नारदमुनि थुलुङ्गसँग नगाँसिएको खण्डमा २००७ सालको क्रान्तिको सबै पक्ष नदेखिने र स्व. नारदमुनि थुलुङ्गले गर्नुभएको योगदान पनि नदर्शिने हुनाले २००७ सालको क्रान्ति र स्व. नारदमुनि थुलुङ्गको सम्बन्ध अन्योन्याश्रित छ । २००७ सालको क्रान्तिबाहेक श्री थुलुङ्गको देन माझ किराँतका लागि अनुपम रहेको छ । भोजपुरको आधुनिक शिक्षाको इतिहासको सुरुआत नै स्व. नारदमुनि थुलुङ्गबाट भएको कुरा सबैलाई सर्वविदित नै भएको कुरा हो ।

भोजपुरमा अंग्रेजी स्कूल खुल्नु–अगाडि भोजपुर बजारमा एउटा भाष पाठशाला र टक्सार बजारमा एउटा भाषा पाठशाला थियो । टक्सार बजारमा रहेको भाषा पाठशालामा दुर्गा कवच, चण्डी, हितोपदेश र लघु सिद्धान्त कौमुदी पनि पढाउने गरिन्थ्यो भने भोजपुर बजारमा रहेको पाठशालामा नेपाली भाषामात्र सिकाइन्थ्यो । भोजपुर बजारमा रहेको भाषा पाठशालाका गुरु गणेश बाजे थिए भने टक्सारको भाषा पाठशालाका गुरु पं. ध्रुवलाल थिए । भोजपुर बजारमा नजिकै राधाकृष्ण पाटीमा पनि भाषा पाठशाला थियो । उक्त भाषा पाठशालामा पनि नेपाली भाषाको साथ साथै दुर्गा कवच, चण्डी, लघु सिद्धान्त कौमुदी, हितोपदेश पढाउने गरिन्थ्यो । त्यस पाठशालाका गुरु पं. तुलसीराम थिए । यस अवधिसम्म नेवार जातिले पनि कौमुदी पढ्न सुरु गरेको देखिन्छ । भोजपुर र टक्सार दुवै पाठशालामा संस्कृत पढ्ने विद्यार्थीहरु नेवार जातिबाट पनि थिए । दिंगलामा संस्कृत विद्यालय धेरै अगाडिदेखि नै थियो ।

विक्रम संवत् २००३ सालसम्म उपर्युक्त किसिमको शिक्षा दिने चलन थियो । अंग्रेजी जान्ने मानिस जिल्लामा केही भए पनि अंग्रेजी भाषाका विरोधीहरु नै धेरै थिए । अंग्रेजी भाषाको ज्ञान भनेको गाइ खाने विद्याको ज्ञान हो भनी विरोध गर्ने धेरै मानिस भएकोले अंग्रेजी भाषाको स्थापनाको कुरै थिएन ।

सर्वप्रथम स्व.नारद मुनि थुलुङ्ग वृटिश आर्मीमा जमदार भएको र सोही पदबाट सेवा निवृत्त भई भोजपुर आएका थिए । स्व. थुलुङ्गको घर छिनामुखुमा भएको र भोजपुर बजार आएपछि त्यस बखतका युवाकहरुलाई प्रभावित पारी स्कुल खोल्ने विचार गरेछन् । एक पटक भोजपुर बजारको माथिल्लो धारामा गीत गाउँदा केही युवकहरु प्रभावित भएछन् । सो प्रभावले गर्दा श्री पूर्णबहादुर उदाशको घरमा श्री इन्द्रप्रसाद श्रेष्ठ, श्री गोपालबहादुर श्रेष्ठ, श्री रामबहादुर प्रधान, श्री पुण्यप्रसाद श्रेष्ठ आदिलाई जम्मा गरी वि.सं. २००३ सालमा पद्योदय स्कूल खोलियो । भोजपुर बजारको बीच चार भञ्ज्याङ्गको पाटीमा बस्नको लागि बोरा र टेवलका लागि साबुन राख्ने बाकस राखी हेड मास्टरमा नारदमुनि थुलुङ्ग र अन्य शिक्षकहरुमा श्री इन्द्रप्रसाद श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ र स्व थुलुङ्गको छोरी ललिता थुलुङ्ग थिए ।

स्व. नारदमुनि थुलुङ्गले आर्मीमा रहँदा हासिल गरेको शिक्षा नै उनको औपचारिक शिक्षा थियो । उनी नियम नछाड्ने र अर्काले नियम छोड नियम छाडैकोमा विभिन्न प्रकारले आफ्नो विरोधलाई प्रर्दशन गर्ने खुबी राख्दथे । एक पटक आफ्नो तरक्की नभएकोमा दिउँसो लालटीन बाली अध्याँरो भएकाले न्याय खोजेको भनी प्रदर्शन गरेछन् ।

भोजपुर बजारमा स्कूल खोले पनि त्यस बखत भोजपुरका धनी कहलिएका व्यक्तिहरु पोरखे, पैञापानी, लेखर्क र द्योरालीमा थिए । ती व्यक्तिहरु अंग्रेजी शिक्षाका विरोधी हुनाको कारण शिक्षामा त्यति सहयोग न गरेकाले नारदमुनि थुलुङ्गले उक्त स्कूलको प्रधानाध्यापकको हैसियतमा मात्र सेवा नगरी समाज सेवा र विद्याको ज्योति पुञ्जको रुपमा नै काम गरे ।
पद्योदय मि. इ. स्कूलमा २००४ साल तिर धरानका खगेन्द्र राईलाई ल्याइयो । पद्य शमसेरपछि मोहन शमसेरको उदय निश्चित थियो । नेपालको राजनीतिमा एको उदय भएपछि अघिल्लो अर्थात् जुद्धोदय स्कूलले पद्यशमसेरको पालामा छायाँमा पर्नुपर्ने र मोहन शमसेर आएपछि पद्योदयले छाँयामा पर्ने स्थिति देखेकाले काठमाडौंमा आई उदय मि.ई. स्कूलको नाममा स्वीकृति लिए । उक्त स्कूलको नाम उदय राखेपछि कुनै पनि श्री ३ को समयमा छायाँमा पर्नुपर्ने भएन ।
भोजपुर बजारमा उदय मि.ई.स्कूल स्थापना भएपछि केही महिना पछि टक्सारमा जगदीश नेपालीको नेतृत्वमा विद्याधरी मि.इ.स्कूल पनि खोलियो । उदय मि.इ.स्कूल भएपछि कलकत्ताबाट गणेशबहादुर रोका (आई.ए) लाई प्र.अ.को रुपमा ल्याइएको थियो । नेपाली र संस्कृति पढाउने शिक्षकको रुपमा प. तुलसीराम ढकाल काम गर्दथे ।

स्कूलमा पटक पटक गरी धेरै समयसम्म शिक्षक नभएको खण्डमा माथिल्लो क्लासको विद्यार्थी र मझौला क्लास् (दोस्रो) को विद्यार्थीले पनि आफुभन्दा मुनिको विद्यार्थीलाई पढाउने गर्नुपर्दथ्यो । वि.सं. २००५-०६ साल तिर काठमाडौंबाट शिक्षकको रुपमा जयन्द्रबहादुर थपलियालाई पनि लगिएको थियो ।

स्कूलको फिस नगण्य नै थियो । विद्यार्थी संख्या पनि कम नै थियो । स्कूलको खर्चको रकम ज्यादै बढ्दै गएकाले स्कूल संचालन गर्न बाधा पर्दै गएको थियो । यस स्थितिमा पनि थुलुङ्गज्यूले आफूले पहिला काम गरेको आर्मीमा पनि गई चन्दा संकलन गरी ल्याई स्कूललाई सूचारु रुपले संचालन गर्नुभएको थियो ।

नारदमुनि थुलुङ्ग आफू सैनिक सेवामा रहेकाले नैतिक शिक्षा र अदपमा ज्यादै जोड दिन्थे । भोजपुरमा नुहाउने कुराको कुनै नियम थिएन । शुक्रवार आधा छुट्टी भनेको विद्यार्थीले नुहाउनुपर्ने र लुगा आपैmले धुनुपर्ने नियम बाँधीदिएका थिए । बिहीबारका दिन सरस्वती पूँजा हुने र सिधा पनि विद्यार्थीले लिएर जाने चलन थियो । मुख धुन धारामा जाने र शिक्षकलाई नमस्ते गर्ने चलन ज्यादै भक्ति र आदरपूर्वक गर्ने गरिएको थियो ।

नारदमुनि थुलुङ्ग स्कूलको व्यवस्थापन र पढाउनमा पनि त्यतिकै ध्यान दिन्थे । श्री थुलुङ्गले भूगोलमा देशान्तर र अक्षांशको हिसाब सिकाएको अद्यापि विद्यार्थीलाइ ताजा नै रहेको पाईन्छ । व्यावहारिक रुपले नक्सा देखाई राम्रो ज्ञान दिने गर्दथे ।

भोजपुरको शिक्षालयमा जिल्ला भरबाट बाहेक हालको खोटाङ्ग, उदयपुर, ऐसलुखर्क तथा ओखलढुंगा जिल्ला समेतबाट विद्यार्थीहरु आई शिक्षा हासिल गर्दथे । त्यसकारण भोजपुर स्कूल एउटा दीपको रुपमा खडा भएको थियो भने थुलुङ्ग सो दीप पुञ्जको रुपमा रहेका थिए ।
स्व. थुलुङ्गज्यू को देन शिक्षा क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि बढ्दै गयो । अंग्रेजी शिक्षाका कट्टर विरोधी अंग्रेजी शिक्षालाई गाई खाने विद्या भन्ने मानिसहरु विस्तारै परिवर्तन भई अहिले हेर्ने हो भने उक्त स्कूलको आधारबाट आज जिल्ला भर हाई स्कूलहरु छरिएर रहेका छन् । भोजपुर बजारको उदय स्कूल र टक्सारमा रहेको विधाधरी स्कूलको नामबाट अर्थात् विद्या+उदय= विद्योदय गरी जिल्लाको सर्व प्रथम हाई स्कूलको रुपमा रहेकोमा आज पनि जिल्लाको अगुवा स्कूलको रुपमा सञ्चालित छ ।

स्व. नारदमुनि थुलुङ्ग शिक्षा सेवी मात्र नभई नेपालको राजनैतिक व्यवस्थामा आँखा चिम्लेर बस्ने सकेनन् । स्कूल सञ्चालन गर्न एकातिर कठिन भएकाले देशमा राजनैतिक सुधार नल्याई केही पनि हुँदो रहेनछ भन्ने विश्वास लिई स्कूलको माध्यमबाट राजनैतिक कृयाकलाप गर्नुको सट्टा–भित्रै सङ्गठन गर्दै गएका थिए

भारतमा अंग्रेज फौजमा रहँदा महात्मा गान्धीको नेतृत्वबाट प्रभावित भएका तथा त्यहाँ आजादी समेत भइसकेकाले समय परिपक्क भइसकेको छ भन्ने लागि प्रजातन्त्र नै सबै विषयको माध्यम हो भन्ने कुरालाई गान्धीको राजनैतिक नेतृत्वबाट प्रभावित भएकाले समय परिपक्क भईसकेको छ भन्ने लागि कार्यान्वयन गर्ने भूतपूर्व सैनिकहरुलाई भित्र–भित्रै सङ्गठन गरी उनी भोजपुर जिल्लामा एउटा बलियो किल्ला बनाउनेतर्फ दत्तचित्त भए ।

२००७ सालमा प्रजातान्त्रिक क्रान्ति भयो । यस्तो क्रान्ति हुनु अगाडि देशको विद्यमान स्थिति पनि केलाउनुपर्ने आवश्यकता देख्दछु । जनता राजालाई देवता मान्थे र कर्मचारीहरु राजाप्रति ज्यादै भक्तिभाव राख्दथे । कुनै राजनैतिक पार्टीको विषयमा जान्ने मानिस विरलै थिए । काँग्रेसले केटाकेटी खान्छ भन्दा पनि मानिसहरु विश्वास गर्दथे । विक्रम संवत् २००४ साल तिरको कुरा हो स्व. विश्वेश्वरप्रसाद कोइराला, श्री मनमोहन अधिकारी सहित ३÷४जना समातिई अड्डासारका क्रममा भोजपुर हुँदै काठमाडौं ल्याइएका थिए । भोजपुर बजारमा किनमेल गर्न ल्याउँदा ३-४ जनालाई देखी केटाकेटीहरु पछ्याउँदै थिए । काँग्रेसले केटाकेटी खाने भन्ने कुराले ती व्यक्तिहरुलाई हेर्दा केटाकेटीले मुखतिर हेर्नु स्वभाविकै हो । यत्तिकैमा एक जना केटी लड्दा ती मान्छेहरुले उठाइ दिएपछि कतिपय ठाउँमा काँग्रेसले केटाकेटी खाँदो रहेनछ । केटाकेटीलाई माया गर्दारहेछ भन्ने कुरा पनि चलेको थियो ।

प्रशासकीय उच्च ओहदामा बसेको मानिसलाई काँग्रेस भनेको कस्तो किसिमको मानिस हो कहाँबाट आउने हो वा काँग्रेस त हो भन्ने कुरा पनि वि.सं. २००७ सालको क्रान्ति भन्दा अगाडि थाहा थिएन । काँग्रेस भनेको एक काम ओढ्ने र अर्काे कान ओछ्याउनेभन्दा पनि नपत्याउने मानिस विरलै पाइन्थ्यो । शिक्षाको प्रसार थिएन । कसैले कुने हल्ला चलाइदियो भने त्यो हल्ला हो वा सत्य हो थाहा थिएन ।

विराटनगरमा नेपाली काँग्रेसको नेतृत्वमा आक्रमण गरी गोश्वारा र त्यस बखतका बडाहाकिमको घर कम्पाउण्ड घेरिएको थियो । वाहिरपट्टि नेपाली काँग्रेसका जि.वि. याकथुम्वाको नेतृत्वमा फौज रहे पनि विराटनगर कब्जा हुन सकेको थिएन । विराटनगर घेराबन्दीमा रहेको समयमा सुदूर पूर्वको पहाँडी इलाकामा भोजपुरमा भने केही अगाडिदेखि शनिवार हाट लागेको समयमा ‘काँग्रेस आयो ! काँग्रेस आयो !’ भनी हल्ला चलाइदिएकाले मानिसको भाग भाग सुरु हुन्थ्यो ।तर वास्तविक काँग्रेसलाई चिनेका थिएनन् ।

विराटनगर पूर्णरुपले कब्जा हुनुअगाडि भोजपुरमा वि.सं. २००७ सालको मार्ग २५ गते नारदमुनि थुलुङ्खको वरद नेतृत्वमा फौजीनेतृत्व ले.राम प्रसाद राई र श्रीपाल राईको लिई विना रक्तपत सजिलै कब्जा गरेका थिए । भोजपुर कब्जा गर्दा स्व. थुलुङ्गलाई नेपाली काँग्रेसको झण्डा पनि एकिन रहेनछ । त्यसकारण भोजपुर कब्जा गरेपछि भोजपुरमा भारतीय तीन रङ्गे झण्डामा ४ तारा राखिएको थियो ।

स्व. नारादमुनि थुलुङ्गको नेतृत्वमा भोजपुर कब्जा गरेपछि भोजपुरमा सामयिक सरकार गठन भई शिक्षा मन्त्रालय, रक्षा मन्त्रालय र अन्य मन्त्रालय गठन गरिएको थियो । यस्ता मन्त्रालयको नेतृत्व जगदीश नेपाल ? इन्द्रप्रसाद श्रेष्ठ, रामप्रसाद राई र अन्य कतिपयले लिएको थिए । भोजपुर कब्जा गरेपछि भोजपुर काफ्लेका दोर्जे भोटेलाई दिङ्गला र चैनपुर कब्जा गर्न पठाएको थियो । निजले एउटा भरुवा वन्दुकको भरमा स्थानीय जनताको सहयोगले दिङ्गला र चैनपुर कब्जा गरेछन् ।

श्री दोर्जे भोटेले चैनपुर र दिङ्गला कब्जा गरेकाले निजलाई श्री थुलुङ्खबाट भी.सी. तक्मा दिइयो र तोपसमेत पड्काइे सलामी दिइएको थियो । पछिसम्म दोर्जे भोटेलाई भी.सी. भन्ने चलन थियो ।भोजपुर कब्जा गरेपछि स्व. थुलुङ्ग थुप लागेर बसेनन् ।

भोजपुरबाट धनकुटा, तेह्रथुम, ताप्लेजुङ्ग र पश्चिमपट्टि वखल्ढुंगा कब्जा गर्ने योजनामुताविक धनकुटा कब्जा गर्न जाँदा धाराको पाइप काट्ने काममा जाँदा २-३ जनाको राणाको फौजले गोली हानी मृत्यु भएछ । यसरी मृत्यु हुनाले कारण वायरलेसबाट जोगवनीमा कन्ट्याक्ट हुँदै धनकुटा कब्जा गर्ने विषयमा कुरा भएको र सो कुरा धनकुटाले थाहा पाएकाले भोजपुरले धनकुटा कब्जा गर्न सकेन । भोजपुरले धनुकुटा बाहेक उपरोक्त जिल्लाहरु कब्जा गरिसकेको थियो ।

राणाको फौजले पुनः वखल्ढुंङ्गा कब्जा गरी भोजपुरको दावाँ नजदिक आइ सकेको थियो । भोजपुरमा गोला बारुद सकिइसकेको, अर्काेतर्फ राणाको टु इञ्च थ्री इञ्च गनको अगाडि टिक्न मुस्किल परेको थियो ।

भोजपुरमा नारदमुनि थुलुङ्ग र रामप्रसाद राईको नेतृत्वको अदम्य साहसले गर्दा राणाको फौज खोलाको किनारमा खाना खाइरहेको बखत छालाको धुएत्रोबाट भोजपुर बजारका मानिसहरु समेत ली आक्रमण गर्दा राणाको फौज टु इञ्च, थ्र्री इञ्च बन्दुकहरु छोडी भागेपछि भोजपुरको सामयिक सरकारको कब्जाको लडाइका थुप्रै सामानहरु फेलापरे ।

फौजी सामानहरु फेला परेपछि त भोजपुरबाट पुनः सिजलैसँग कब्जा भयो । हालको राष्ट्रिय सभाका अध्यक्ष श्री बेणीबहादुर कार्कीका बाबुले त्यस बखत राणाको फौजको नेतृत्व गरी गएका थिए । निजलाई राम प्रसाद राई नै मारी राणाको फौजलाई परास्त गरेका थिए ।
रामप्रसाद राई अदम्य शाहस राख्नै ज्यादै लडाकु भएका र उनको नेतृत्वमा अदम्य साहस भएका मुगाधन राई, पूर्णप्रसाद राई आदिबाट नेतृत्व लिई अपराङमुखी राई जसले अंग्रेजी सेनाको नेतृत्व लिएका थिए, ले पूर्वमा दुई नम्बर समेत कब्जा गरी एक नम्बर समेत हमला गर्न आइसकेका थिए ।

जि.वि. याक्थुम्बाको नेतृत्वबाट विराटनगर र पछिबाट भोजपुरसमेतको सहायता लिई धनकुटा कब्जा गरेका थिए । यदि भोजपुरबाट स्व. थुलुङ्गको नेतृत्वमा उपरोक्त जिल्लाहरु कब्जा नगरिएको भए राणाले कहिले पनि झुकेर दिल्ली संझौता गर्ने थिएनन् । त्यसकारण भोजपुरमा थुलुङ्गको नेतृत्व प्रभावकारी क्रान्तिले नै २००७ सालमा प्रजातन्त्र नेपालमा आएको हो । यदि भोजपुरबाट यस प्रकार कब्जा गरी विभिन्न जिल्लाहरु अधीनमा नलिइएको भए सायदै २००७ सालमा प्रजातन्त्र आउँथ्यो ।

स्व. थुलुङ्ग र रामप्रसाद राईको नेतृत्वमा भोजपुरमा कति सफाई थियो र मानिसहरु कति अदपशील थिए भन्ने कुरा शायदै वर्णन गर्न सकिन्छ । मानिसहरुले सुन्तला, केरा वा बदाम खाँदै हिडेर बाटोमा फ्याँक्न पाउँदैनथे । त्यस्ता बोक्रा खोस्टा र कागजात आदि गोजीमा राखी निदिंष्ट ठाउँमा मात्र फ्याँक्नु पर्दथ्यो । सामयिक सरकारले भोजपुर बजारको सफाईमा ज्यादै ध्यान लिएको थियो । अब त्यस्तो सफाइ त सुन्न पाउनु पनि असंभव नै भएको छ ।

फौजमा रामप्रसाद राईको नेतृत्व जि.वि.याक्थुम्बाभन्दा धेरै गुण माथि तिर । तर उनको आदम्य साहस र कामको भने प्रजातान्त्रिक सरकारबाट कदर भएन । भोजपुरमा पनि स्व. थुलुङ्ग र रामप्रसाद राईको नेतृत्व मन नपराउने श्री ध्यानबाटर राईले काउण्टर रिभोल्युसन गरी नारदमुनि थुलुङ्ग र रामप्रसाद राईलाई बन्दी बनाए । यसरी थुलुङ्ग र रामप्रसाद राईको योगदानलाई धमिल्याउन खोजेको देखिन्छ ।

स्व. नारादमुनि थुलुङ्ग एक शिक्षाविद् र प्रजातन्त्रका ठूला अगुवा भएकाले नै २००७ सालमा प्रजातान्त्रिक क्रान्ति सफल भएको हो । यदि भोजपुरबाट विभिन्न जिल्लाहरुमा एक्काशि क्रान्तिको राँको नसल्केको भए २००७ सालको प्रजातान्त्रिक क्रान्तिको कहाँ गएर टुङ्गिने थियो भन्ने कुरा सत्य इतिहास बुझ्ने र सत्य दृष्टालाई सजिलै थाहा हुने कुरा हो ।

केही वर्ष यता स्व. थुलुङ्गको मृत्यु भइसकेको छ । तर स्व. थुलुङ्गको प्रजातन्त्रप्रतिको देन र भोजपुर तथा नजिकका जिल्लाहरुमा थुलुङ्गले फुकेका शिक्षाको विगूलले भविष्यसम्म पनि अटूट सम्झना गराइ रहने छ भन्ने विश्वास गर्न सकिन्छ । स्व. थुलुङ्गले रचेका स्कूलको प्रार्थना ‘पढूं भाइ बहिनी हो पढुं देशको उन्नति गरौं’ भन्ने रचनाले युग युगसम्म स्व. थुलुङ्गको शिक्षा र दीक्षाप्रतिको भावना अमीट संझनाको रुपमा नेपालीहरुमा र विशेष गरी भोजपुर जिल्ला वासीहरुको हृदयमा कहिले न सुक्ने गरी कहिले नमर्ने गरी रही रहनेछ ।
(नारदमुनि थुलुङ स्मृति ग्रन्थ २०५१ बाट)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *