काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अध्यक्ष दाहाललाई ७ दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि ‘हेर्न नभ्याइने’ भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।
निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।




