नेपालमा जति राजनीतिक प्रयोग सायद कुनै देशमा भएको छैन होला । जहानियाँ शासन, बहुदल, पञ्चायत, फेरि बहुदल, बहुदलमा पनि पञ्चदेखि कम्युनिस्टसम्मको शासन, मिलिभगत शासन, फेरि राजतन्त्र, फेरि उग्रकम्युनिस्ट शासन, सिंगै कम्युनिस्ट शासन, कर्मचारी शासनसमेत भोग गरिसकेका छन् नेपाली जनताले । यत्रो ठूलो कम्युनिस्ट सत्ता उनीहरूकै कारण चकनाचुर भएपछि नेपाली राजनीति भरोसा खोजीमा रुमल्लिएको छ ।
लोकसेवा आयोगमा छनोटमा परेको उम्मेदवार असफल भएपछि स्वतः वैकल्पिक उम्मेदवारले मौका पाउने प्रचलन छ । राजनीतिक रूपमा कम्युनिस्ट शासन असफल भएपछि अबको सत्ताको पहिलो हकदार नेपाली कांग्रेस हो । अघोषित रूपमा सत्ता कांग्रेसको हातमा आइसकेको छ ।
नेपाली जनतालाई तिलस्मी कथाहरू सुनाएर, भ्रम छरेर, डर, धाक, त्रास फैलाएर कतिपय ठाउँमा जनमत लुटेर संसद् भवन छिर्न सफल भएका तथाकथित कम्युनिस्टहरूले नै बनाएको सरकारले उनीहरूको लोगो खोसिदिएको छ संसद विघटन गरेर । हामी त यिनीहरू सत्ता सञ्चालन गर्न नालायक छन् भन्दै थियौं । अहिले त उनीहरू स्वयंले आफूलाई नालायक सिद्ध गरेका छन् । संविधानका केही प्रावधानसमेत मिचेर आफ्नो नालायकी प्रस्तुत गरिसकेका छन् ।
उनीहरू विदेशी शक्तिसमेत गुहारेर खोसिएको फुली फेरि प्राप्त गर्न सडक आन्दोलनमा छन् । स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने दुष्प्रयासमा लागेका छन् भने अर्को खाईपाई आएको समूह निर्वाचनको घोषणा गर्दै निर्वाचन नै नहुने परिस्थिति निर्माण गरेर आफ्नो निरंकुश शासनको आयु लम्ब्याउने दाउपेचमा लागिरहेको छ ।
इतिहासमा गरिएका केही त्रुटिपूर्ण सम्झौता र निर्णयका कारण प्रतिपक्षको संकुचित घेरामा परेको कांग्रेसका पनि दुई-चारवटा चुच्चाहरू पलाएका छन् । एउटा चुच्चोले मीठोमीठो खाला भन्ने ईष्र्याले अरु चुच्चाहरूले कुभक्षण गर्ने छाँटकाँट नदेखाउलान् भन्न सकिन्न । त्यसैले होसियारीपूर्वक सबै चुच्चाहरू एकैतिर फर्काएर एउटै कुवामा पानी पिउन मिल्ने अवस्था सृजना गर्न आमलोकतन्त्रवादीहरूले सहयोग गर्नुपर्छ ।
संविधान त च्यातिसकियो, मुलुक नच्यातौं
विभिन्न वर्ग समुदायको असन्तुष्टि, निकटतम छिमेकीहरू पनि सन्तुष्ट नहुँदै बडो हर्षोल्लासले जारी गरिएको संविधान केपी ओलीको बाहुलीबाट च्यातिएको छ । हामी संविधानको दुई कित्तामा विभक्त भइसकेका छौं । एकथरी संसद् विघटनको पक्ष र अर्कोथरी विपक्षमा । अदालत चेपुवामा परेको छ । एउटा कित्ताले अदालतको निर्णयलाई स्वीकार्न सक्ने परिस्थिति छैन । विदेशीहरूले खेल्ने प्रशस्त मौका पाएका छन् । पुनस्र्थापना भयो भने संसद् भवन नै विदेशी शक्तिकेन्द्रको मैदान बन्ने छ । तिनै पात्रहरूको मुठभेडले यो परिस्थिति पैदा भयो, फेरि उनीहरूलाई पुनस्र्थापना गर्नुले बचेखुचेको विधि पनि समाप्त हुने छ ।
गर्न त हामीले धेरै परिवर्तन गरेका छौं । केही रुखलाई दाउरा बनायौं केही दाउरा खरानी । निरपेक्ष परिवर्तनले गर्दा थिति खोज्नै सकेनौ । रीतिथिति, संस्कृति र परम्पराका हाल असामायिक भएका दुई-चारवटा कुराको आलोचनाको जगमा राजनीतिक समूहका नशानशामा आलोचनात्मक संस्कृति प्रवाह गरेका छौं । राणाहरूका दुर्गुण मात्र देख्यौं । पञ्चायतको उस्तै दुर्गुण मात्रै । बहुदलको यति आलोच्य भयो कि यसकाविरुद्ध त बन्दुक नै उठाइयो । अहिले बहुदलको नाम फेरेर एकजना राजालाई फालेर राजैराजा थुपारेका छौं । यो पद्धति त यति आलोचित भाको छ कि राज्य नै विघटन हुने दिशामा उन्मुख हुँदै छ । शव्दको खेती गर्ने कम्युनिस्टहरूको लहैलहैमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि गरियो । तर हाम्रो सोच र शैली उहीँ पुराना शासकको भन्दा के फरक रह्यो ? यो पद्धति त झन् कुपात्रको हातबाटै धुजाधुजा भइसकेको छ ।
क्या विडम्बना एकदलीय तानाशाही सिद्धान्तको रट लगाउने कम्युनिस्टहरू संसदीय व्यवस्थाको रक्षाका लागि सडकमा, लोकतन्त्रको प्रायः कांग्रेस ढलेको कम्युनिस्ट सत्ताको पुनस्र्थापनाका लागि सडक आन्दोलनमा । व्याशासनमा बसेर पुराण सुनाउने पण्डितहरू धर्मनिरपेक्षताको पक्षमा, मुस्लिम तथा जनजातिहरू हिन्दु अधिराज्यको पक्षधर विदेशी नुनपानीमा हुर्केका कथित बुद्धिजीवीहरू । राष्ट्रवादी यस्तो विसंगतिपूर्ण समाजलाई अब लिकमा ल्याउने काम केवल कांग्रेसको हो ।
बृहत् राष्ट्रिय एकता र मेलमिलापको नेतृत्व केवल कांग्रेसले गर्न सक्छ । यो इतिहासले सुम्पेको अन्तिम अवसर हो । जर्मनीमा वर्लिनको पर्खाल भत्किँदा, सोभियत रुसमा लेनिनको शालिक ढालेर कम्युनिस्ट सत्ता ढल्दा, चीनमा देङ सियायोपेङको उदयपछि आंशिक मानवअधिकारको आभास हुँदा दीपावली गर्ने विश्व लोकतन्त्रवादीको समर्थक नेपाली कांग्रेस आफैं ढलेको कम्युनिस्ट सत्ताको पुनर्उत्थानमा लाग्नु भनेको ‘विनाशकाले विपरीत बुद्धि’ भन्नु अतियुक्ति नहोला ।
संविधान भनेको गीता, कुरान र बाइबल त पक्कै होइन । यो संविधानमा प्रशस्त त्रुटिहरू छन् । यसलाई पुनरावलोकन गरेर मुलुक र यसको संस्कृतिको सापेक्षतामा सच्च्याउनु पनि त छ । च्यातिएकै कारण यसलाई सुधार्ने अवसर प्राप्त छ । निर्वाचनमा जाँदा केही विषयलाई जनमतसंग्रहको माध्यमले जनादेशबमोजिमको सुधार गरिने वचनबद्धताको साथ जानु र यथेष्ट बहुमत हासिल गर्नु कांग्रेसका लागि अन्तिम अवसर हो ।
आफू अध्यक्ष भएको पार्टीमा, आफैले गठन गरेको केन्द्रीय समितिको दुई तिहाइ आफन्तबाट लघारिएका, विचरा केपी ओलीलाई मूर्खहरूले सडकबाटै सम्राट बनाइरहेका छन् । विनाशकाले विपरीत बुद्धि आज जसको निन्दा भत्र्सना गरिरहेका छौं उसकै गाथा गाएर त्यहाँसम्म पुर्याउने अरु कोही हुन् र ? इतिहासमा पटकपटक यस्ता अपराध गर्ने छुट फेरि यिनीहरूलाई नै दिनुपर्छ भन्ने सोच्नु अर्को अपराध हुनेछ । यो जनताले बनाएको संविधान हो भने यसकोे अन्तिम व्याख्या पनि जनताले नै गर्न पाउनुपर्छ ।
(लेखक नेपाली कांग्रेस महासमिति सदस्य हुन्)




