काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा.लालबाबु यादवले निर्धारित मितिमा निर्वाचन गराउन नसके प्रधानमन्त्री केपी ओली अक्षम हुने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा यादवले प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र अहिले उक्त मुद्दामा बहस जारी रहेकाले अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्ने पनि बताए । अदालतले प्रतिनिधिसभा विघटन सदर गरेर निर्वाचनको पक्षमा फैसला गरेमा सरकारले समयमै निर्वाचन गराउनुपर्ने पनि उनले सुनाए । तर, समयमै निर्वाचन गर्न नसके यो सरकारको असक्षमता हुने यादवको भनाइ थियो ।
‘सरकारले निर्वाचन गराउन सकेन भने यो सरकार असक्षम हुन्छ । किनकि उहाँ (प्रधानमन्त्री केपी ओली) ले विघटन गरेको हो, कोर्टले भोलि लिगलाइज गर्यो भने उहाँले समयमै निर्वाचन गराउनुपर्छ,’ यादवले भने ।
उनले मुलुकमा राष्ट्रपति शासन लागू हुने कुनै सम्भावना नभएको पनि बताए । उनले इमर्जेन्सीमा मुलुक गयो भने संविधान र व्यवस्था नै नटिक्ने दाबी गरे ।
‘प्रधानमन्त्रीले चुनाव हुन सकेन र अब अहिलेको परिस्थितिअनुसार अघि बढ्नु भनेर ६ महिना वा एक वर्षको लागि इमर्जेन्सी सिफारिस गरेको खण्डमा पनि यसमा राष्ट्रपतिलाई मुछ्नु हुँदैन् । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो । त्यो चाहीँ लाष्ट स्टेज हो,’ उनले संकटकाल भनेको अन्तिम अवस्थामा लागू हुने कुरा भएको सुनाउँदै यदि मुलुक संकटकालको अवस्थामा गए संविधान र डेमोक्रेसी नै नटिक्ने दाबी गरे । लोकतन्त्र वा प्रजातन्त्रमा विश्वास गर्नेले जनतामा जाने कुरामा डराउन नहुने पनि उनले धारणा राखे । उनले भने–‘राज्य र जनता यी दुई बीच समय समयमा अनुमोदन गर्नुपर्छ । यदि कोर्टले निर्वाचनमा जाउ भन्यो भने सरकारको प्रथम दायित्व हुन्छ कि जनतामा जाने ।’




