काठमाडौं । प्रतिनिधिसभा विघटन र नेकपा विभाजन हुँदासम्म मौन बसेका उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीविरुद्ध उभिएका छन् ।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा संवैधानिक परिषद्का पदाधिकारीको सपथ समारोहलाई उपराष्ट्रपति पुन र सभामुख सापकाटाले बहिष्कार गरेर आफूहरू प्रतिगमनको विरुद्धमा रहेको स्पष्ट संकेत दिएका छन् ।
सभामुख सापकोटाले दुई दिनअघि मात्र संवैधानिक पदाधिकारीको संसदीय सुनुवाइ गर्न नसकिने भन्दै सरकारलाई सक्कल पत्र नै फिर्ता पठाइदिएका थिए । जसकारण उनी सपथ कार्यक्रममा नगएका हुन् ।
संवैधानिक परिषद्को सिफारिसमा परेका विभिन्न आयोगका अध्यक्षहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा सपथ लिएका छन्। थारु आयोगका अध्यक्षबाहेक अन्य आठ आयोगका अध्यक्षहरुले सपथ लिएका हुन्।
सपथ लिनेहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, आदिबासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा विक्त आयोगका अध्यक्ष रहेका छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच सरकार गठन हुँदा एमालेको भागमा राष्ट्रपति र प्रधानमन्त्री तथा उपराष्ट्रपति र सभामुख माओवादी कोटामा परेको थियो । राष्ट्रपति र प्रधानमन्त्री मिलेर अहिले संवैधानिक अंगमा पदाधिकारी नियुक्ति मात्र होइन, प्रतिनिधिसभा विघटन गरेपछि माओवादी समूह असन्तुष्ट बनेको छ । अब नेकपामा राष्ट्रपति र प्रधानमन्त्री एकातिर, उपराष्ट्रपति र सभामुख अर्कातिर उभिएका छन् । यसले नेपालको राजनीतिलाई थप जटिलतातिर लगेको विश्लेषण गर्न थालिएको छ ।




