रिबन

जसपा रित्याउने अभियानमा केपी ओली, अब बाबुराम, महन्थ र उपेन्द्र सँगै बस्लान् ?

काठमाडौं । प्रतिनिधिसभा विघटन र सत्तारुढ दल नेकपा विभाजन भएपछि त्यसको तरंग अन्य दलमा पनि परेको छ । प्रधानमन्त्री केपी ओली अहिले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, विप्लव नेकपालगायतका दलमा खेलिरहेका छन् ।

सुरुमा भने ओलीले मधेस केन्द्रित दल जसपाको संगठन छियाछिया पार्ने रणनीतिमा जुटेका छन् । ओलीको पहिलो निसानामा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव परेका छन् । सो दलका नेताहरुलाई एक एक गरी आफ्नो दलमा प्रवेश गराएपछि उनीहरुलाई मिल्नै बाबुराम, महन्थ र उपेन्द्रलाई एक ठाउँमा सँगै बस्नै नदिने र तराई मधेसमा नेकपा (ओली समूह) लाई बलियो बनाउने ओली रणनीति रहेको स्रोतले बतायो ।

सोही कारण अहिले धमाधम जसपाका नेतालाई पार्टी प्रवेश गराउन थालिएको छ । केही दिनअघि जसपाका नेता तथा पूर्वसांसद बबन सिंह नेकपामा प्रवेश गरिसकेका छन् । उनलाई प्रभु साहले रौतहटमै पार्टी प्रवेश गराएका थिए ।

यस्तै, जसपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. शिवजी यादव मंगलबार मध्यराति नेकपा ओली समूहमा प्रवेश गरेका छन् । तत्कालीन फोरम नेपालका प्रमुख सचेतकसमेत रहेका यादव प्रधानमन्त्री ओलीबाट अवीर र माला लगाउँदै मंगलवार अबेर राति नेकपामा प्रवेश गरेका हुन् । यादव कम्युनिस्ट पृष्ठभूमिका हुन् ।

ओली समूहले आफ्नो पार्टीका नेताहरुलाई एकएक गरी प्रवेश गराउन थालेपछि जसपामा भुइँचालो गएको छ । यो घटनाबाट सबैभन्दा तनावमा महन्थ, बाबुराम र उपेन्द्र परेका छन् । तर, ओलीकै निगाहामा सांसद जितेका राजेन्द्र महतो भने मौन छन् । आफूभन्दा पहिल्यै धेरै नेता ओली समूहमा पठाएपछि राजेन्द्र महतो पनि प्रवेश गर्ने स्रोत बताउँछ ।

जसपामा अहिले पुरानो दल ब्यूँताउने अभियान सुरु भएको छ । महन्थ तमलोपा, राजेन्द्र महतो सदभावना र उपेन्द्र फोरम ब्यूँताउने विषयमा छलफलमा जुटेका छन् । बाबुराम भने प्रचण्डसँग छलफलमा जुटिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *