काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठनहरुले आज देशभर प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरे । कांग्रेसको केन्द्रीय समिति बैठको निर्णयअनुसार आज सोमबार भ्रातृ संगठनले देशभर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा केन्द्रीय नेताहरुले विभिन्न जिल्लामा गएर सरकारविरुद्ध प्रदर्शनको नेतृत्व तथा सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा अधिकांश नेताहरुले अदालतको निर्णयलाई शिरोधार्य गर्नुपर्ने बताए । उनीहरुले यदि सरकारको कदमलाई अदालतले ठीक ठहर गरे जनतामा जान तयार रहनुपर्ने बताएका थिए । यता तनहुँको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि सरकारको कदमको खुलेर विरोध गरेको बताए । उनले असंवैधानिक कदमको कांग्रेस सधैँ विरोधमा रहेको प्रष्ट्याए ।
विरोध प्रदर्शनलाई सम्बोधनको क्रममा नुवाकोटबाट सहमहामन्त्री डा. प्रकाशशरण महतले भने- कांग्रेस अदालतलाई मानेर अगाडि जान्छ । उनले सर्वोच्चले जस्तो फैसला गरे पनि आफूहरुले मान्ने बताए ।




