राजनीति

राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाद्वारा गम्भीर आपति

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्ले पठाएको सिफारिसपत्र फिर्ता गरेकोबारे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गम्भीर आपत्ति जनाएका छन् ।

सोमबार संसद् सचिवालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमल्सिनाले आफूसमेत सहभागी भएर गरिएको परिषदका सिफारिसहरु विधिसम्मत भएको दाबी गरे । सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै उनले पत्रमा राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा आपत्ति जनाउनु परेको बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार परिषद्का कागजात सक्कलै फिर्ता पठाइदिएका थिए । उनले संसद विघटन भएकाले संसदीय सुनुवाइ सम्भव नभएको लगायत कारण देखाउँदै पत्र फिर्ता गरेका थिए ।

अध्यक्ष तिमल्सिनाले सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित सभामुख र एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गरे । सभामुखले फिर्ता पठाएको पत्रको असर नियुक्तिमा पर्छ जस्तो आफूलाई नलाग्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *