रिबन

म्यानमारमा सेनाद्वारा ‘माघ १९’, नेपालमा भय

काठमाडौं । राजनीतिमा हावी हुँदै आएको सेनाले म्यानमार (बर्मा) मा सोमबार स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिँदै एक वर्षका लागि संकटकाल लगाएको छ । यसअघि पनि पटकपटक म्यानमारमा सेनाले ‘कू’ गर्दै आएको छ । सुकीले सत्ता सम्हाल्दा पनि आफ्नो इशारामा हिंडाएको सेनालाई राजनीतिको लत लाग्दा के हुन्छ भन्ने उदाहरण म्यान्मार बनेको छ ।

सु की को नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टील सहज जित हात पारेको चुनावी नतिजामा सेना सन्तुष्ट थिएन । गत साता सेनाले चुनावमा अनियमितता भएको दावीलाई स्थापित गर्न सत्ता कब्जा गर्ने मनशाय देखाएको थियो । सोमबार झिसमिसेमै सु की र राष्ट्रपनि विन मिन्टलाई गिरफ्तार गरेर हिरासतमा राखिएको एनएलडीका प्रवक्ता म्यो न्योन्टले एएफपीलाई बताएका छन् ।

चुनावपछि पहिलोपटकका लागि संसद वैठक बस्नुभन्दा केही घन्टा अगाडि सेनाले कु गरेको हो ।
सेनाले आफ्नै टेलिभिजन च्यानलमार्फत एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । म्यानमारको व्यापारिक केन्द्रका रुपमा रहेको पुरानो राजधानी याङ्गुनमा बाक्लो संख्या सैनिक तैनाथि गरिएको एएफपीले जनाएको छ ।

माघ १९ गतेकै दिन म्यानमारमा सैनिक कू भएपछि नेपालमा तरंग सिर्जना भएको छ । २०६२ माघ १९ गतेकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपालको बहुदलीय व्यवस्था कू गरी आफूले शासन सत्ता हातमा लिएका थिए । नेपालका सबै दलका नेतालाई नजरबन्दमा राखिएको थियो । अहिले म्यानमारको स्थिति पनि ठ्याक्कै १६ वर्षअघिको नेपालको जस्तो छ ।

आज माघ १९ गते, नेपालमा राजा ज्ञानेन्द्रले कू गरेको दिन । कू अर्थात् गैरसंबैधानिक तवरबाट सत्ता हत्याउने र सत्तामा टिकिरहने बलजफ्तीपूर्ण काम । नेपालमा पुस ५ गते नै प्रधानमन्त्री केपी ओलीले ‘माघ १९’ कै पुनरावृत्ति गरेका छन् । आफूलाई अविश्वास प्रस्तावबाट हटाउने संकेत देखिएपछि ओलीले प्रतिनिधिसभा भंग गरिदिए । जसलाई आमजनताले प्रजातान्त्रिक कू को संज्ञा दिएका छन् ।

लोकतान्त्रिक शासन व्यवस्थामा चुनावबाटै तानाशाह जन्मने हो । त्यो ओलीमा देखिएको छ । राज्यका सबै अंग र संयन्त्र आफ्नो मुठ्ठीमा पारेपछि स्वेच्छाचारी ढंगले जान सकिने सपना ओलीले देखेको हुन सक्ने नेकपाकै नेताहरु बताउँछन् । त्यसैले अहिले नेपालीमा नयाँ तानाशाहको भय देखिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *