शहीदहरुको बलिदानबाट प्राप्त बहुदलीय शासन व्यवस्थामाथि फेरि एकपटक ठूलो संकट आएको छ । संकट निम्त्याउने पात्र परिवर्तन पक्षधरहरु नै हुनु अनौठो संयोग भएको छ । आफै जेलनेल गएका संघर्ष गरेका र लामो समय कष्टपूर्ण जीवन व्यतित गरेका व्यक्तिहरु कै कारण जनताले अपनत्व महसुस गरेको प्रणालीमाथि ग्रहण लाग्ने स्थिति विकसित भएको छ । संविधानसभाले बनाएको संविधान कार्यान्वयनको चरणमा हठात प्रतिनिधिसभा विघटन गरेर तमाम परिवर्तन पे्रमीहरुको मन, भावना, आस्था र निष्ठामाथि प्रहार गर्ने काम ओली नेतृत्वमा रहेको कम्युनिष्ट सरकारले गरेको छ । यो केवल ओलीको मात्र कमजोरी वा त्रुटी थिएन, सम्पूर्ण वामपन्थीहरुको भूमिकाले स्थिति भयावह भएको हो । शहीद दिवसका सन्दर्भमा ती तमाम ज्ञात अज्ञात सहिदहरुलाई सम्झना गर्दौ उनीहरुको सुन्दर सपनामाथि परिवर्तनकामीहरुबाटै भएको बज्रपात निश्चय नै अक्षम्य छ ।
कोराना महामारीको समयमा भिडभाड गर्नु हुँदैन भन्ने सामान्य बुझाइभित्र नै पर्छ । तर प्रतिस्पर्धाको नाउँमा मानिसलाई सडकमा उतारेर आफ्नो संवेदनहिनताको परिचय दिइरहेका छन् ।
नेपालको इतिहासमा राणा शासनको समाप्तिका निम्ति संघर्ष गर्ने सामान्य कुरा थिएन । अत्यन्त कठोर अवस्थामा मानिस स्वतन्त्रता र अधिकारका लागि संघर्षमा उत्रिएका थिए । संघर्षको मैदानमा आउँदा कतिले ज्यानको बाजी लगाए, कतिले घर परिवार त्यागे, कतिले दुःख कष्ट व्यहोरे, त्याग र तपस्याको त कुरै भएन । धेरै दुःख र कष्टबाट प्राप्त उपलब्धीप्रति हाम्रो राजनीतिक नेतृत्व इमान्दार नहुँदा हिजो असजिलो वा गरेको बलिदान र त्याग ब्यर्थ खेर गएको अनुभूति आम मानिसले गर्न थालेका छन् । यसले हाम्रो समग्र राजनीतिक र सामाजिक परिवेशलाई नै अन्योलग्रस्त बनाएको छ । अविश्वासको वातावरण देखिएको छ । निराशा र कुण्ठाले घर गरेको देखिन्छ । सार्वजनिक जीवनको व्यक्तिहरुले निजी स्वार्थका खातिर सामाजिक दायित्व र जिम्मेवारी नै भुलेको देखिन्छ । व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग गरिएका घटनाले राजनीति मात्र होइन न्यायिक र प्रशासनिक क्षेत्रलाई पनि अतिक्रमण गरेको छ । नियन्त्रण र सन्तुलनको व्यवस्थाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको तीतो यथार्थता हाम्रो बीचमा देखापरेको छ । जनताको पीरमर्काप्रति गम्भीर नहुने चिन्तन र प्रवृत्ति हरेक क्षेत्रमा स्थापित भएको पाइन्छ । इमान्दार मानिस त अहिलेको संरचनात्मक व्यवस्थापनमा अनुपयुक्त हुन थालेको छ । जसका कारण सक्ने मानिसहरु आफ्ना छोराछोरीहरुलाई विदेशमा नै पठाउन उपयुक्त हुने निष्कर्ष सुनाउँछन् । राज्य संचालकहरुले गौरवका साथ आफ्ना छोराछोरी विदेशमा भएको खुशियाली अभिव्यक्त गर्छन् । आफ्ना छोराछोरीहरुका लागि उपयुक्त हुन नसकेको देश कसका लागि उपयुक्त बनाउँदै छन् शासकहरु ? सम्मभतः शहिदहरु अचम्मित भएका होलान्, आफ्नो देशको यस्तो अवस्था देखेर ।
राजनीतिक व्यक्तिहरु आम मानिसप्रति सम्वेदनशील छैनन भन्ने उदाहरण खोज्न अन्य विषय कोट्याउन नै आवश्यक छैन । कोराना महामारीको समयमा भिडभाड गर्नु हुँदैन भन्ने सामान्य बुझाइभित्र नै पर्छ । तर प्रतिस्पर्धाको नाउँमा मानिसलाई सडकमा उतारेर आफ्नो संवेदनहिनताको परिचय दिइरहेका छन् । ठूला ठूला सभाहरु गरेर संक्रमण बढाउने काम राजनीतिक नेतृत्वबाट भएको छ । यस काममा सत्तारुढ दल नेकपा अगाडि देखिन्छ । औषधोपचारको व्यवस्था गर्न नसक्ने, नचाहने, भ्रष्टाचार गर्ने तर सर्वसाधारण नागरिकलाई सडकमा उतारेर भिडभाड गराई संक्रमणको जोखिम बढाउने क्रियाकपाललाई के सज्ञा दिने ? जनताप्रतिको माया, पे्रम र जिम्मेवारी यस्तै हुन्छ ? यी सबै कार्य पनि जनताकै लागि भएको मान्नुपर्ने ? कस्तो विडम्बनापूर्ण स्थितिको विकास गर्दैछौं– हामी ? यसप्रति कोही कसैले आवाज निकालेको छैन । सीमित स्वास्थ्यकर्मीभन्दा बाहेकले बढ्दो भीडभाडका कार्यक्रमहरुप्रति आपत्ति र असन्तुष्टि देर्शाएका छैनन् । नागरिक समाजका व्यक्तिहरु पनि बोलिरहेका छैनन्, उल्टो भीडभाडजन्य कार्यक्रम आयोजना गरिरहेका छन् । कतै हाम्रो संवेदनशीलता नै संकटमा परेको त होइन ? हामी हाम्रो निजी स्वार्थ इच्छा र चाहनाका लागि वा तुष्टिका निम्ति मानवीय संवेदना भुलिरहेका त छैनौं । वास्तवमा मरेर जाने शहीदलाई के थाहा, यहाँ बाच्न कति गाह्रो छ ? यस्तो कठिन परिस्थितिका निम्ति वातावरण बनाइदिने शहीदहरु नै दोषी त होइनन ? हाम्रो राजनीतिक नेतृत्वले गर्दा कुनै दिन शहीदहरु नै गलत थिए भन्नुपर्ने स्थिति नआउला भन्न सकिँदैन । शहीदहरुले देखाएको बाटो हिडेको दाबी लिनेहरु नै यस्ता भएपछि मूल श्रोत नै खराब थियो कि भन्ने लाग्नु अस्वभाविक होइन ।
भ्रष्टाचारको विषयमा झगडा भएको थियो, सुशासन भएन भन्ने आवाज आएको हो र ? खानपिन र लेनदेन मिल्दासम्म ओली ठीकै थिए । जब एकलौटी गर्न थाले अनि भाडभैलो भएको होइन ?
आज जो कसैलाई पनि लाग्न थालेको छ कि कसप्रति विश्वास गर्नु ? राजासँग भएन, बहुदलसँग भएन, गणतन्त्रमा पनि भएन, कुन तन्त्रमा विश्वास गर्नु ? कोसँग विश्वास गर्नु ? ओलीसँग नभएको दाहाल नेपालसँग होला ? यिनीहरुको विकल्प देउवा बन्न सक्छन वा पौडेल हुन सक्छन् ? जनता आशावादी हुनसक्ने, प्रत्याउने वातावरण छ त ? छैन । कहिकतै आशा गर्ने ठाउँ नै छैन । हेरिसकेका छन्, देखिसकेका छन् । जनताको अपमान गर्ने प्रतिस्पर्धा नै चलेको छ । ओलीलाई दुई तिहाई नजिकको बहुमतले पुगेन, दुई तिहाईभन्दा माथि नै चाहियो । माथि किन आवश्यक प¥यो, त्यो थाहा छैन । दुईतिहाई भन्दा अलि कम भएर भ्रष्टाचार, अनियमितता, अविश्वास र अनिश्चयको वातावरण बनेको हो ? जनताले देखेका हेरेका र भोगेका छैनन्, कम्युनिष्टहरुका बीचको भागवण्डा र लेनदेन नमिलेर प्रतिनिधिसभा विघटन भएको ।
भ्रष्टाचारको विषयमा झगडा भएको थियो, सुशासन भएन भन्ने आवाज आएको हो र ? खानपिन र लेनदेन मिल्दासम्म ओली ठीकै थिए । जब एकलौटी गर्न थाले अनि भाडभैलो भएको होइन ? यो भए केका लागि ओली वा दाहाल–नेपालको सभामा जाने ? कोरोना संक्रमणबाट ग्रस्त हुन ? उपचार गराउँछन् भन्ने ग्यारेन्टी छ ? छैन । यस्तो अवस्था आएको देखेर मानिसहरु शहीदहरु प्रति नै असन्तुष्टि पोख्न सडकमा आउन सक्छन ? किन यस्तो बाटो देखायौं ? यही हो तिमीहरुको सपना ? छोराछोरी बस्न नसक्ने देश, युवा रोजगारीका लागि खाडी, कतार, मलेसिया, कालापत्थरसम्म जानुपर्ने अवस्था निर्माणका लागि नै हो परिवर्तन ? जिन्दावाद र मुर्दावादका लागि हो लोकतान्त्रिक गणतन्त्र ? महामारीमा सडक तताउन उर्दी लगाउनेहरुबाट जनताको निम्ति कुनै काम हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ? त्यस्तो देखिँदैन । राजनीतिमा जस्ता जस्ता पात्रहरु देखिएका छन्, उनीहरुको अनुहार हेर्दा आज भोलि मात्र होइन, सुदूर भविष्यसम्म आशा गर्ने ठाउँ देखिँदैन । शहीदहरुको सपना यसरी पूरा गर्न सकिन्छ कि सपना नै यस्तै हो । यो कसलाई सोधौं ? जनताको हक र अधिकारका लागि रगत दिने तमाम शहीदहरुप्रति श्रद्धाञ्जली !




