गुरुङहरू हिमालयको फेदमा अझ भनौं अन्नपूर्ण, माछापुच्छे«, मनास्लु र हिमचुलीको दक्षिणी काखमा आफ्नो पुख्र्यौली थातथलो भई नेपालको पश्चिम, मध्य र पूर्व क्षेत्रमा बसोबास गर्ने एक तिब्बत (वर्मेली) जाति हो । गोर्खाका राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगै गुरुङहरू गण्डक क्षेत्रबाट पूर्वतिर बसाइँ–सराइ गएका हुन् भनेर अध्येताहरू मान्दछन् । सन् २०११ को जनगणनाअनुसार नेपालको कुल जनसंख्याको दुई प्रतिशत गुरुङहरू छन् । गुरुङ समुदायको बसोबासको मुख्य जिल्लाहरू पश्चिममा कास्की, लमजुङ, गोरखा, स्याङ्जा, मनाङ, मुस्ताङ र पर्वत हुन् भने पूर्वमा संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, इलाम, मोरङ, सुनसरी र झापा हुन् ।
सन् १९६० को दशकतिर गुरुङको एथ्नोग्राफी गरेका मानवशास्त्री एलेन म्याक फार्लानका अनुसार गुरुङहरू हजारौं वर्ष पहिले चीनको पश्चिमी पहाडी क्षेत्रबाट अन्नपूर्ण नजिक आएका हुन सक्दछ । आफ्नो भाषामा तमू भनिने यो जातिको छुट्टै भाषा, संस्कृति र रीतिरिवाजहरू छन् ।
पूर्वका गुरुङहरू नेपाली भाषा बोल्दछन् । त्यहाँका वृद्धवृद्धाहरूदेखि केटाकेटीसम्मले नेपाली नै बोल्ने गर्दछ । आफ्नो पुरानो बोलीचाली जोगाउन पूर्वका गुरुङहरू अहिले पश्चिमबाट बोलाइएका भाषा शिक्षकहरूबाट तालिम लिन थालेका छन् । पश्चिममा गुरुङहरूको आफ्नै भाषा भए पनि उनीहरूको गुरुङ भाषिकाहरू धेरै छन् । एउटा डाँडा कटेर अर्काेमा पुग्दा एकअर्कासँग नबुझिने फरक बोली सुनिन्छ । त्यसैले गुरुङ बस्ती भएका जिल्लाका सदरमुकामहरूमा रहेका एफएमहरूबाट गुरुङ भाषामा प्रसारण हुने विभिन्न सूचना र समाचारहरू एकअर्कामा धेरै बुझिँदैनन् । यसको ज्वलन्त उदारहण सन् २०१५ मा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर आएको भूकम्पको समयमा उक्त जिल्लाको लाप्राकभन्दा माथिल्लो भेगका गुरुङहरूलाई सूचनाको अभाव भएको थियो ।
गाउँका गुरुङ ठिटाहरू बसन्त ऋतुदेखि शरदसम्म नै भेडाको बथान र भोटे कुकुर लिएर अरु पशुपालकहरूसँग लगभग तीन हजार मिटर उचाइमा रहेका सिद्धितिर जाने गर्थे ।
गुरुङहरूको परम्परागत पेसा कृषि, भेडापालन तथा पशुपन्छी पालन हो । बेलायती तथा भारतीय सेना, सिंगापुर पुलिस र नेपाली सेनामा भर्ती हुने चलन पहिलेदेखि नै छ । तर, अहिलेको आर्थिक–सामाजिक विकासले त्यो संस्कृतिलाई विस्तारै परिवर्तन गर्दै लगेको छ । संखुवासभा, मादीका मेरा बाजेहरूले भेडीगोठसम्बन्धी निकै रमाइलो किस्सा सुनाउनु हुन्छ । बाजेहरू दशकौंसम्म भेडीगोठमा बस्नुभयो । मादी क्षेत्रमा ३०÷४० वर्षअघिसम्म धेरै भेडीगोठहरू थिए । एउटै बथानमा तीन हजारदेखि चार हजारसम्म भेडाहरू हुन्थे रे । गाउँका गुरुङ ठिटाहरू बसन्त ऋतुदेखि शरदसम्म नै भेडाको बथान र भोटे कुकुर लिएर अरु पशुपालकहरूसँग लगभग तीन हजार मिटर उचाइमा रहेका सिद्धितिर जाने गर्थे । सिद्धिमा बस्दा बाजेहरूले मकैको सातु, भेडाको मासु, दूध, दही र मोही भने प्रशस्त खानुहुन्थ्यो रे । यी खानाहरूमा प्रशस्त प्रोटिन पाइने भएकाले अहिलेसम्म पनि उहाँहरूलाई निरोगी बनाएको हो भन्ने निक्र्याेल गर्न सकिन्छ । शारीरिक परिश्रम र पौष्टिक खानेकुराका साथै टुङ्ना र मुर्चुङामा संगीहरू निस्फिक्री नाँच्ने र गाउने बानीले पनि उहाँहरूलाई मानसिक रूपमा स्वास्थ्य बनाएको हुनसक्छ । हिँडेर दुई दिन लाग्ने तेह्रथुम बजारमा भेडाको ऊनबाट बन्ने घुम, राडी, काम्लो, पाखी र चकटीजस्ता सामान लगेर बेच्ने चलन थियो । अहिले पनि केही गाउँमा यस्ता सामानहरू बनाउने चलनचल्तीमा नै छ । संखुवासभाका राई गाउँहरूभन्दा माथि र भोटे गाउँहरूभन्दा तलका गुरुङहरू अहिलेसम्म पनि भेडा चराउन माथिल्लो भेग हटिया र चेपुवा गाउँ नजिकका चरन क्षेत्रतिर जाने गर्छन् ।
भेडीगोठमा रहँदा बाजेहरू पेटमा समस्या भएको बेला ‘बिख्मा’ खाने, आगोमा पोलेको ठाउँमा भेडाको घ्यू र चोटपटक लाग्दा घाऊमा पाँचऔले लगाउँने र घर फर्कंदा भेडासँगै ती औषधिहरू पनि बोकेर ल्याउनुहुन्थ्यो रे । गुरुङहरू परम्परागत रूपमा भेडाको मासु खाने बानीले होला गाउँघरमा अहिले पनि तीन–चारवटा भेडा पाल्ने गरेका छन् । त्यहाँबाट भेडाहरू झापा, मोरङ र सुनसरी हुँदै काठमाडौंमा रहेका गुरुङहरूले मासुका लागि खरिद गरेर लैजाने गरेका छन् ।
बाजेहरूको अर्काे अनुभव, अहिलेजस्तो त्योबेला यातायातको सुविधा थिएन, नून बोक्न सुनसरीको धरानसम्म हिँडेरै पुग्नुपर्ने हुन्थ्यो । आउँदा–जाँदा १२ दिन लाथ्यो रे । जाँदा ढाकरमा ओढ्ने र ओछ्याउने कपडासहित आलु, अन्न र घ्यू लिएर जाने गर्दथे । धरान पुगेर आलु, अन्न र घ्यू बेच्ने गर्दथे, बिक्रीबाट प्राप्त रकमले नुन तथा घरायसी सामान किन्नुहुन्थ्यो रे । बाटोमा बास बस्ने घर खासै थिएन । त्यसैले बेलुकीको रात चौतारीको फेद र ओढारतिर सुत्नुहुन्थ्यो रे । अझैं पनि वरुणभन्दा माथि भोटे गाउँहरूमा बटुवाहरूलाई बास बस्न मिल्ने ढुंगाका एकतले घरहरू धेरै भेटिन्छन् ।
संखुवासभा, ताप्लेजुङ, तेह्रथुम र सोलुखुम्बुका बाजेहरू हिँडेर धरान जाँदाका पुराना किस्साहरू सुनाउँन सधैं उत्सुक हुन्छन् । अहिलेका मानिसहरू खाँदबारी, चैनपुर, बसन्तपुर, धरान हुँदै काठमाडौंसम्म प्रविधिको विकाससँगै मोटरमा सरर सवार भएको देख्दा उनीहरू प्रविधिको विकास देखेर दंग पर्छन् । तर सहरको दूरी र समयको खुम्च्याई देखेर ती ठाउँहरू कतिपयले आफ्ना लागि बिरानो पो हुने हो कि भनेर सुविधासम्पन्न ठाउँहरूमा बसाइँ सर्न मान्दैनन् ।
आफ्नै धर्म र रीतिरिवाज भएका गुरुङहरू हिन्दुकरण वा संस्कृतिकरणको बढ्दो लहरले हिन्दु बने । अन्नपूर्ण र माछापुच्छ्रे हिमालमुन्तिरको पछिल्लो थातथलो छोडेर लिम्बुवान र खम्बुवान गएका गुरुङहरूले बाहुन–क्षेत्रीहरूको विस्तारै नक्कल गर्दै हिन्दु धर्म अँगाले । ४०-५० वर्ष अघिसम्म पूर्वका गुरुङहरूले जन्मदेखि मृत्युसम्मका संस्कारहरू ब्राह्मण पुरोहितहरू बेलाएर गर्ने गर्थे । सन् १९९० पछि उनीहरू आफूलाई बौद्धमार्गी भन्न थाले । चन्द्रकुमार घोण्डे गुरुङको अगुवाइमा पोखराबाट लामा लगेर मादीमा संखुवासभा जिल्लाकै पहिलो गुम्बा निर्माण गरे । अहिले त्यहाँका गुरुङहरूले लामा नै प्रयोग गरेर कर्मकाण्ड गर्ने गर्दछन् । यद्यपि चिना हेराउने तथा ग्रहशान्तिका गराउँनका लागि पुरोहित प्रयोग गर्न भने पूर्ण रूपमा छोडेका छैनन् ।
सन् २०१५ मा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर आएको भूकम्पको समयमा उक्त जिल्लाको लाप्राकभन्दा माथिल्लो भेगका गुरुङहरूलाई सूचनाको अभाव भएको थियो
गुरुङहरूको बाहुल्य रहेको पश्चिम नेपालमा भने पूर्वतिरका गुरुङहरूले अवलम्बन गरेको प्रचलनभन्दा फरक छ । आफूलाई बौद्धमार्गी वा बोन धर्मावलम्बी जे भने पनि उनीहरू मुलतः पितृ, प्रकृति वा ढुंगालाई पूजा गर्ने समुदायको रूपमा आफूलाई लिन्छन् । जन्मदेखि मृत्युसम्मको संस्कार कतै पच्यु भनिने त कतै टुंगा भनिने पुजारीबाट गराउँछन् । लामा लगाउने चलन कहीँंकतै भर्खर मात्र शुरु हुँदैछ । लामाहरूको आफ्नो लिखत शास्त्र हुन्छ भने पच्यु र टुङ्गाहरू मैखिक परम्परामा आधारित हुन्छन् । गुरुङहरू बौद्ध धर्मावलम्बी बनेसँगै तिब्बतीयन नयाँ वर्षलाई ल्होछार मनाउँने परम्परा सुरु भएको हो । तर पहिलेदेखि मनाउँदै आएका हिन्दु चाडपर्वहरू दशैं, तिहार, तीज र संक्रान्तीहरू पनि यथावत् नै छन् । विगतमा दशैं मान्ने महिनामा पितृहरूको पूजा हुन्थ्यो, तर पछि त्यो महिनामा दशैं नै मुख्य चाड बनेर आयो । चलनहरूमा आएको यो खालको परिवर्तन र द्विविधालाई लिएर हाम्रा बाजे पुस्ताहरू चिन्ता व्यक्त गर्नुहुन्छ । आधुनिक र पश्चिमी जीवनशैलीको सानिध्यताले कतिपय नयाँपुस्ताले इसाई धर्म मान्न थालेका छन् । गुरुङ जातिको संस्कृतिक धरोहरको रूपमा रहेको हेमन्त ऋतुमा नाचिने धिमा गतिको ‘गर्दा–शिवा’ नाचमा एक ठकुरी राजाको मृत्युपछि उनकी रानी सति जाँदाको वर्णन हुन्छ । नाचमा गुरुङहरू सौखिन र पारंगत हुन्थे । पश्चिमका गुरुङले मनाउँदै आएका रोधिं बस्ने चलन पनि विस्तारै हराउँदै गएको छ, यो एउटा चिन्ताको विषय हो ।
परम्परागत रूपमा खाइने आलु, ढिंडो, सिस्नो आदिदेखि हरियो मकैलाई उसिनेर सुकाएपछि बेमौसममा गेडागुडीसँग वा फाल्टै खान मिल्ने फाल्सी, मोहीबाट बनाइने सोल्लर, मूलाको सिन्की र सागको गुन्द्रुक, भटमासका किनेमा आदि हाम्रा बाऊ–बाजे पुस्ताका लोकप्रिय खानेकुराहरू हुन् । साथै, पूर्वका गुरुङहरूले जाडोमा घ्यू, नून, तातोपानी, लसुन वा दुन्दुको पातको मिश्रण गरेर पिउँछन् । त्यस्तै, रक्सीलाई घ्यूमा झाँनेर सुरूप्–सुरूप् पार्छन् । यसो गर्दा सर्दी भाग्छ भन्नुहुन्छ । यी खानेकुराहरू नितान्त गुरुङहरूका मौलिक कुरा होइनन्, भौगोलिक रूपमा खाद्यसुरक्षाका लागि वा पहाडी समुदायले आफंैले सिर्जना गरेका खाद्य बानीहरू हुन् । कतिपय खानेकुराहरू बनाउँन, पकाउन या तयार पार्न धेरै मेहनत र समय खर्च हुन्छ । दूरी–समयको संकुचनको मनस्थितिमा रहेको नयाँपुस्तामा यी खाना बनाउँन सिक्न र तयार पार्न धैर्यता र समय दुवै कम छ । बुढापाकाहरू पहाडी ठाउँमा पिठो र ढिंडो मन पराउँछन् भने युवा र बच्चाहरू दाल–भात तरकारी मन पराउँछन् । खानाकै कारण पनि पुस्तान्तरण हुन र सांकेतिक द्वन्द्व हुने गर्दछ ।
अहिलेको विज्ञानसम्मत दृष्टिकोणमा अस्वस्थ्यकर मानिएको रक्सी गुरुङहरूको अपरिहार्य पेय पदार्थ हो । अहिलेको बाजे पुस्ताले रक्सी छाडेका छैनन् । पितृलाई चढाउन, छोरीचेलीलाई कोसेली पठाउँन, धर्म, तिथिबार र चाडपर्वमा रक्सी नभई नहुने हुन्छ । तम्बाखु, सुर्ती र चुरोट भने आफ्नो सौखले अम्मल हुने हो । पूर्व र पश्चिममा सुर्तीका अम्मली वृद्धवृद्धाहरू धेरै छन्, तर उनीहरूमध्ये धेरैलाई सामान्यभन्दा बढी स्वास्थ्य समस्या देखिँदैन । गाउँघरमा बस्ने गुरुङहरू कोही बिरामी भएमा सबैभन्दा पहिले कि त जडीबुटी कि त धामीझाँक्री लगाउने गर्छन् अनि मात्र आधुनिक चिकित्साको पालो आउँछ । मोटर नपुगेको ठाउँमा बिरामीले अकालमा ज्यान गुमाउनु त्यति अस्वाभाविक मानिँदैन ।
बुढापाकाहरू पहाडी ठाउँमा पिठो र ढिंडो मन पराउँछन् भने युवा र बच्चाहरू दाल–भात तरकारी मन पराउँछन् । खानाकै कारण पनि पुस्तान्तरण हुन र सांकेतिक द्वन्द्व हुने गर्दछ ।
वर्गका हिसाबले गुरुङ समुदायमा भिन्नता रहे पनि सामूहिक, सामाजिक र सांस्कृतिक कार्यमा उनीहरूको ऐक्यबद्धता देखिन्छ । यो समुदायले गरिबीको निर्मम सहरी स्वरूपलाई भने कहिल्यै भोग्न परेको छैन । उसो पनि गुरुङहरूमा ‘किनसीप’को भावना हुन्छ र अप्ठ्यारोमा सहयोग प्राप्त हुने भएकोले उनीहरूलाई खाद्यसुरक्षामा धेरै सजिलो हुने गरेको छ । विगतमा परम्परागत रूपमा गुरुङहरूमा रहेको ‘उपल्लो’ चारजात (घले, घोताने, लामा र लाम्छाने) र सोह्र जात ‘तल्लो’ जातहरूबीच (घ्याब्रे, क्याब्छे, कुरूम्छे, जिग्रे, थोर्जे, दोर्जाली, रिमाली, फोज, चोर्मी, पोम, थिं, म्हगी, पैंगी, खत्रा, योज, खोलाली, सोगुन र थोर्जामी) वैवाहिक सम्बन्ध गाँसिदैंन । पछिल्लो समय लगभग गुरुङभित्र ठूलो–सानो थरको विभेद अन्त्य भइसकेकाले यी थरहरूबीचको विहेवारीलाई बन्देज छैन । आफ्नै समुदायभित्रको चालचलन, संस्कृति र रीतिरिवाजको राम्रो ज्ञान हुने भएकाले हुनसक्छ, गुरुङहरूको सकेसम्म आफ्नै जातिभित्रै बिहे गर्ने चलन बढी हुन्छ ।
अर्कोतिर, समयक्रममा आफ्नै जातको मान्छे रोज्नुपर्छ भन्ने चलन पनि बिस्तारै हट्दै पनि गएको छ । गुरुङ समुदायको अर्को महत्वपूर्ण पाटो ‘मामाचेली–फुपूचेला’ अर्थात् मामाका र फुपूका सन्तान्हरूबीच हुने विहेवारी हो । ‘मामाचेली–फुपूचेला’लाई अहिले पुरानो चलन भनेर मान्यता दिए पनि यी र यस्ता चलनहरू सांस्कृतिक रूपमा धनी र जनसांख्यिक हिसाबले महत्वपूर्ण जातजातिहरूमा प्रचलित हुन्छ । यी कुराहरू सदियाैंदेखि गुरुङहरूको आफ्नो एथ्नोबायोलोजी अर्थात जातिगत जीवबिज्ञानमा आधारित भएर चलेको परम्परा हो । यो विवाह परम्पराले विवाहमा रहेका केटाकेटीलाई जवाफदेही बनाउन सहयोग गर्दछ भने दुई परिवारबीच सम्बन्ध सुमधुर बनाउँनका साथै दुःख–कष्ट परेको बेलामा सरसहयोग गर्न जिम्मेवार बनाउँदछ ।
गुरुङ संस्कृतिको एउटा पक्ष संयुक्त परिवार थियो । जहाँ दुईभन्दा धेरै पुस्ता एकै छानामुनि बस्ने र एकअर्कामा कामको बाँडफाँट हुने गर्दथ्यो । समयको कालक्रमसँगै युवा र युवतीहरू दुर्गमबाट सुगम, गाउँबाट सहर र देशबाट विदेश जाने क्रमले यो चलन विस्तारै घट्दै गएको भान हुन्छ । यसरी परिवार, समुदाय र संरचनामै आएको परिवर्तनले बच्चादेखि नै सिक्ने र सिकाउँने रैथाने ज्ञानको पुस्ता हस्तान्तरणमा केही कमी हुँदै गइरहेको छ । संस्कृति र स्थानीय ज्ञानको प्रसार कम हुँदै गइरहेको छ । अहिलेको परिवेश, आधुनिकता, नयाँ शिक्षा, दूरी–समयको संकुचन र कम्प्युटरकृत सञ्जालले नयाँ र पुरानो पस्ताबीच दरार आइरहेको भान हुन्छ ।




