गणतन्त्र नयाँ मन्त्र छायाँ क्षेत्र प्रथा नयाँ
काम मुकाम छन् टोल भोक मेट्ने कथा नयाँ ।१।
आलोपालो सरोकार भागबन्डा विभूषण
कुम्ल्याए नव द्वारे भै बिटुलो खुकुलो धन ! ।२।
खोज्दैछ किन हो कोही विद्वेष द्वेष ल्याउन
खाल्टो खाडल पार्दैछ साझा देश टुटाउन । ।३।
मौका हेर्दैछ गाउँले बाटोे पुल बनाउन !
गाडी गाउँ चढाएर दुःख कष्ट नपाउन । ।४।
मान्छे सब्जी लगाएर दाम काम कमाउने
नौनी दूध फलाहार बेची आय बढाउने ।५।
उपभोग्य सबै खाद्य वस्तु छन् के बजारमा ?
रोक्ने को हो महारोग महँगी गजबारमा ? ।६।
हराएछ गयो काहाँ अर्गानिक निको मल ?
भटमास, मकै, सातु सारा आफलताफल ।७।
पास्ता थोक्पा नयाँ नास्ता चाउचाउ बने मिठा
खुसाएझैं छ बासिन्दा स्वादे स्वाद अनर्थका ।८।
वस्तुका गुइँठा काहाँ पहाडी टोल टिप्छ र ?
चुनको नुनको बोरा आए ग्याँस सिलिन्डर ? ।९।
अलैंचीको बुटै पैसा, खाडी मुग्लान नै धन
वर्तमान निराकार सुस्त आराम जीवन ।१०।
काकाकुल थिए गिद्घ चील पक्षी गए कहाँ ?
गाईगोरु पशुपन्छी तीर्थयात्री भए कहाँ ? ।११।
भोगलिप्सा बनी मान्छे छोडी बस्ती गए पर
चोट आहतका भोगी सहरोन्मुख सादर ।१२।
* * *
मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१




